काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ ।
यस अघिको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तुलनामा यस पटक मतदाताको संख्या सवा नौ लाखभन्दा बढीले वृद्धि भएको छ । आयोगका अनुसार अघिल्लो निर्वाचनमा कुल १ करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेका थिए भने यस पटक ९ लाख १५ हजार ११९ मतदाता थपिएका छन् ।
प्रकाशित अन्तिम मतदाता नामावलीअनुसार कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको छ । यसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा २०० जना अन्य लिङ्गका मतदाता रहेका छन्
मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आज अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो। साथै, मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार आवश्यक प्रक्रिया पूरा गरी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरण अद्यावधिक गरी नामावलीमा समावेश गरिएको छ ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल निर्धारण गरिएको छ । ती मतदानस्थलहरूमा कुल २३ हजार ११२ मतदान केन्द्र स्थापना गरिने आयोगले जनाएको छ । आयोगले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न तयारी अगाडि बढाएको छ ।