काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच आज बिहान ‘बृहत् एकता’ गर्ने सहमतिमा हस्ताक्षर भएको छ।
सहमति पत्रमा दुवै नेताले हस्ताक्षर गर्दै आगामी राजनीतिक सहकार्य र एकताको औपचारिक घोषणा गरेका हुन्। सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन्। यस्तै, आसन्न प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने सहमति भएको छ।
सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ। भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले सञ्चालन गरेका विभिन्न आन्दोलनका आवाजलाई संस्थागत रूपमा अघि बढाउने उल्लेख गरिएको छ। विशेष गरी भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनबाट उठेका मुद्दालाई राजनीतिक एजेन्डाका रूपमा अघि बढाइने सहमतिमा जनाइएको छ।
बृहत् एकतापछि पार्टीको सङ्गठनात्मक संरचना थप सक्षम, समावेशी र फराकिलो बनाइने उल्लेख छ। योग्य, सार्वजनिक छवि भएका युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई पार्टीको जिम्मेवारी दिइने सहमति पनि भएको छ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’मा गोलबद्ध भई अन्य परिवर्तनकामी, सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई सहकार्यका लागि आह्वान गर्ने निर्णय गरिएको छ।