बुथ र मतदाता सुरक्षामा केन्द्रित हुन डा. राउतको निर्देशन

राजविराज९ फागुन  । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै जनमत पार्टीले सप्तरीको राजविराजमा युवा दस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । राजदेवी मैदानमा आयोजित उक्त कार्यक्रममा पार्टीका अध्यक्ष एवं सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार डा. सीके राउतले आफ्ना ‘जेनजी युवा दस्ता’लाई विशेष प्रशिक्षण दिएका हुन् ।

मतदाता सुरक्षा मुख्य प्राथमिकता

प्रशिक्षणका क्रममा अध्यक्ष राउतले निर्वाचनका बेला आ-आफ्नो मतदान केन्द्र (बुथ) र मतदाताको सुरक्षा गर्नु युवा कार्यकर्ताहरूको प्रमुख जिम्मेवारी रहेको बताए । उनले भने, “अहिलेको समयमा व्यक्तिगत मनमुटाव त्यागेर निर्वाचनको लडाइँ जित्न केन्द्रित हुनुस् । यो जित मेरो वा पार्टीको मात्र नभई तपाईँ सबैको हो ।”

एजेन्डा: विकास र निकास

जनमत पार्टीले सधैँ गरिब, दलित, मुस्लिम र सीमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आएको दाबी गर्दै अध्यक्ष राउतले ‘जनता राज’ कायम गर्नका लागि मतदान गर्न आग्रह गरे । उनले आफ्नो पार्टीले लिएको रोजगारीको एजेन्डा कार्यान्वयनका लागि विभिन्न स्थानमा ग्राम उद्योगको पूर्वाधार निर्माण भइरहेको समेत जानकारी दिए ।

३० हजार युवालाई मधेस प्रहरीमा भर्ना गर्ने दाबी

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेता महेशप्रसाद यादवले जनमत पार्टीले उठाएको रोजगारीको मुद्दा अहिले अन्य दलका घोषणापत्रमा पनि पर्नु आफूहरूको नैतिक जित भएको बताए । उनले भने, “हामीले ३० हजार जेनजी युवालाई मधेस प्रहरीमा भर्ना गर्ने निर्णय गरिसकेका छौँ । हामी शासक होइन, जनताका सेवक हौँ ।”

युवाहरूको उत्साह र प्रदर्शन

प्रशिक्षणका क्रममा दर्जनौँ नयाँ युवाहरू विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन् । प्रशिक्षण पश्चात् युवा दस्ताले राजविराज नगरका मुख्य-मुख्य चोकहरूमा प्रदर्शन गर्दै चुनावी माहोल तताएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस