राजविराज । चुनाव आउन केही दिन मात्र बाँकी रहँदा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।
सप्तरीको चार ओटै क्षेत्रका उम्मेदवारहरुले नतिजा आ–आफ्नो पक्षमा पार्नका लागि मतदाता रिझाउनमा व्यस्त देखिएका हुन् । जनताको घरदैलोमा पुगेर अधिकांश उम्मेदवारले अधिकारको सुनिश्चितता तथा विकासीय कार्यहरुलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्ने गरेका छन् ।
यसै क्रममा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उमेश कुमार यादवलाई समेत यतिबेला घरदैलो गर्न भ्याइ–नभ्याइ भएको छ । मौन अवधी शुरु हुन केही दिन मात्र बाँकी रहँदा विहानदेखि अबेर रातीसम्म उनी जनताकै घरदैलोमा बिताउने गरेका छन् ।
जनताबाट आएका गुनासाहरुको जवाफ दिँदै उनले गजेन्द्रनारायण सिंह अस्पतालमा थप शैय्याका लागि अत्याधुनिक भवन निर्माण, कृषि विश्वविद्यालय स्थापना तथा पठनपाठन सञ्चालन, अस्पताल परिसरमै नर्सिङ भवन निर्माण, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा इन्जिनियरिङ भवन निर्माण, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना, चार लेनको राजविराज–रुपनी सडक, राजविराज–छिन्नमस्ता–न्यौर सडक तथा राजविराज–हनुमाननगर–भारदह सडक निर्माणलगायतका कामहरू अघि बढाएकोमा ती कार्यहरु पुरा गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्ने गरेका छन् । आफूहरू सामाजिक सञ्जालको आडमा नभई जनसङ्घर्षबाट राजनीतिमा आएको भन्दै जनताको भावनालाई सम्मान गर्न पछि नपर्ने उम्मेदवार यादवले विश्वास व्यक्त गरे ।
बुधबार उनले नेता तथा कार्यकर्ताहरुका साथ छिन्नमस्ता गाउँपालिका अन्तर्गतका गाउँ तथा टोलहरुमा घरदैलो गरिएको छ । घरदैलोमा पालिकाका मेयर विद्यानन्द चौधरी, पार्टीका मधेश प्रदेशका पूर्व मुख्य सचिव दिनेश कुमार यादव, जिल्ला समन्वय समितिका पूर्व संयोजक मनोज कुमार यादव (प्रभाकर), जिल्ला अध्यक्ष केदार प्रसाद यादव, युवा नेता नवनित झा लगायतका नेताहरु सहभागी थिए ।
