समानुपातिकतर्फका सांसदलाई चैत ५ मा प्रमाणपत्र वितरण

काठमाडौँ, ३ चैत — निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधिसभा सदस्यलाई आगामी चैत ५ गते प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ। आयोगका अनुसार सो दिन बिहान ११ः३० बजे आयोग परिसरमै एक औपचारिक कार्यक्रम आयोजना गरी निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ। यससँगै समानुपातिकतर्फको निर्वाचन प्रक्रिया अन्तिम चरणमा प्रवेश गर्नेछ।

समानुपातिक निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार राजनीतिक दलहरूले सिफारिस गरी पेश गरेका उम्मेदवारहरूको नामावली यसअघि नै सार्वजनिक गरिसकिएको छ। उनले निर्वाचित सदस्यहरूलाई आवश्यक कागजात समयमै उपलब्ध गराउन आग्रह गरेका छन्। यसमा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र तथा दुई प्रति पासपोर्ट साइजका फोटो अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि छ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५७ सिट जित्दा नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६ र नेकपाले ९ सिट प्राप्त गरेका छन्। त्यस्तै, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार–चार सिट हासिल गरेका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष र ११० सदस्य समानुपातिक प्रणालीबाट चयन हुने व्यवस्था छ। आयोगले प्रमाणपत्र वितरणसँगै यसपटकको निर्वाचन प्रक्रिया औपचारिक रूपमा सम्पन्न हुने जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस