सपनाको भारी र शहीदको रगत: जब राजनीतिले लय समात्छ

​निता थापा

नेपाली राजनीतिको धमिलो आकाशमा जब एउटा नेताले ‘म’ भन्दा माथि उठेर ‘हामी’ र ‘हामी’ भन्दा माथि उठेर ‘देश’ को कुरा गर्छ, तब जनतामा आशाको एउटा दियो बल्छ। राष्ट्रिय स्वोतन्त्र पार्टीको मञ्चमा रवि लामिछानेले प्रस्तुत गरेको त्यो परिपक्वता र स्पष्ट दृष्टिकोणले केवल भाषण मात्र दिएन, हरेक सचेत नेपालीको मनमा एउटा गम्भीर प्रश्न र जिम्मेवारीबोध गरायो।

​१. स्वार्थको घेराभन्दा माथि देशको नक्सा
हामीले दशकौँसम्म “केन्द्रित राजनीति” देख्यौँ, जहाँ शक्ति र बजेट मुठ्ठीभर मानिसको वरिपरि घुमिरह्यो। तर लामिछानेको त्यो चेतावनी— “यदि हामी देश केन्द्रित राजनीति गर्न सकेनौँ भने हाम्रो हविगत पुराना नेताको भन्दा पनि बत्तर हुनेछ”—यसले वर्तमानका नयाँ शक्तिहरूलाई सचेत गराएको छ। राजनीति पदको लागि होइन, पद्धति र परिवर्तनको लागि हुनुपर्छ भन्ने यो एक बलियो प्रमाण हो।

​२. जनताका सपनाको सारथी
सबैभन्दा मार्मिक कुरा त यो थियो— “हाम्रो सपनाको भारी बोक्न यो समाज बाध्य छैन, तर यो समाजको सपनाको भारी हामीले बोक्ने हो।” कति गहिरो विचार! नेता बन्नु भनेको शासक बन्नु होइन, बरु जनताका अधुरा सपनाहरूको भारी आफ्नो काँधमा उठाउनु हो। जब एउटा नेताले आफूलाई जनताको सेवकका रूपमा यसरी उभ्याउँछ, तब मात्र लोकतन्त्रको वास्तविक सुगन्ध आउँछ।

​३. शहीदकी आमा र नैतिकताको कडी
सदनमा बसेकी ती शहीदकी आमालाई सम्झिँदा कसको आँखा नरसाउलान् र? कुनै बिचौलियासँग बसेर एक घुड्को पानी पिउनुअघि ती आमाको त्याग र छोराको बलिदानलाई सम्झिनु पर्ने कुराले राजनीतिको ‘नैतिक धरातल’ कति उच्च हुनुपर्छ भन्ने देखाउँछ। सत्ता र शक्तिमा पुगेपछि बिचौलियाको जालमा फस्नेहरूका लागि यो एउटा कडा प्रहार हो।

​४. न्यायपूर्ण विकासको खोजी
विकास भनेको आफ्नो क्षेत्रमा बजेट सोरेर लैजानु मात्र होइन। यदि कर्णाली, मधेश र सुदूरपश्चिमका जनताको आँखामा आँसु छ भने, काठमाडौँको सत्ताले मनाउने उत्सवको कुनै अर्थ रहँदैन। सिंगो देशलाई समेट्ने, पिछडिएको क्षेत्रलाई अगाडि ल्याउने र सबैको अनुहारमा मुस्कान ल्याउने विकास नै वास्तविक विकास हो।

​निष्कर्ष
रवि लामिछानेको त्यो प्रस्तुतिमा एउटा “अभिभावक” को जस्तो गम्भीरता र “भिजिनरी” नेताको जस्तो स्पष्टता झल्किन्थ्यो। उहाँको त्यो परिपक्वताले के संकेत गर्छ भने—अबको नेपाली राजनीति भावनामा मात्र होइन, धरातलीय यथार्थ र उच्च नैतिकतामा टिकेको हुनुपर्छ। यी शब्दहरू केवल सुन्नका लागि मात्र होइनन्, मनन गर्न र व्यवहारमा उतार्नका लागि उत्तिकै शक्तिशाली छन्

Author:



क्याटोगरी छान्‍नुहोस