गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौँ, ७ चैत — पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

चार पटक प्रधानमन्त्री बनेका कोइरालाको वि.सं. २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो। उनले नेपालमा माओवादी जनयुद्धको अन्त्य गर्दै शान्ति स्थापना प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

वि.सं. २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट हटाएपछि उत्पन्न राजनीतिक संकटमा कोइरालाले आन्दोलनको नेतृत्व गरेका थिए।

त्यसैगरी, वि.सं. २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले दलहरूमाथि प्रतिबन्ध लगाउँदै सत्ता आफ्नो हातमा लिएपछि कोइरालाले सबै दललाई एकताबद्ध गर्दै पूर्ण लोकतन्त्र स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए।

वि.सं. २०६३ वैशाख ११ गते जनआन्दोलनपछि विघटित प्रतिनिधिसभा पुनःस्थापना गरिएको थियो। आन्दोलन सफल भएपछि कोइराला चौथोपटक प्रधानमन्त्री बनेका थिए। पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाका अधिकार कटौती गरी उनलाई औपचारिक भूमिकामा सीमित गरेको थियो।

उनकै नेतृत्वमा माओवादी जनसेनाको समायोजन तथा हतियार व्यवस्थापन सम्पन्न भएको थियो। साथै, उनका दाजु विश्वेश्वरप्रसाद कोइरालाको सपना अनुसार वि.सं. २०६४ चैत २८ गते संविधानसभा निर्वाचन सम्पन्न भएको थियो, जुन नेपालको इतिहासमा महत्वपूर्ण घटना मानिन्छ।

कोइरालाले आफ्नो अन्तिम कार्यकालमा कार्यवाहक राष्ट्राध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए। उनको नेतृत्वमा वि.सं. २०६५ जेठ १५ गते २४० वर्ष पुरानो राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएको थियो।

उनको योगदानको स्मरणमा नेपाली कांग्रेस तथा सम्बन्धित संस्थाहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी स्मृति दिवस मनाइरहेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस