मधेश प्रदेशका मन्त्रीले गरिरहेको योजना खरिद–बिक्रीप्रति पूर्वमन्त्री उमेशको कडा चेतावनी

राजविराज । जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वमन्त्री उमेश कुमार यादवले मधेश प्रदेश सरकारका केही मन्त्रीहरू योजना खरिद–बिक्री संलग्न रहेको गम्भीर आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै योजना कार्यान्वयनसँग सम्बन्धित “चिठी बोकेर डाक बढाबढ गर्ने” प्रवृत्ति सुरु भएको सूचना आफूले पाएको बताएका छन् । विशेषगरी पर्यटन मन्त्रालयसँग सम्बन्धित केही योजनामा दलालहरूले कमिसनका लागि प्रतिस्पर्धा गरिरहेको उल्लेख गरेका छन् ।

यादवले हालैको निर्वाचनमा जनताले पुराना पार्टीहरूलाई दिएको दण्डबाट पनि प्रदेश सरकारका मन्त्रीहरूको व्यवहार नबदलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले सरकारमा सहभागी दलका शीर्ष नेताहरूलाई यस विषयमा गम्भीर ध्यान दिन आग्रह गरेका छन् ।

उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर नजिकको प्रशासनमा बुझाउन सर्वसाधारणलाई अपिल गरेका छन् । साथै, सम्बन्धित वडा अध्यक्ष तथा स्थानीय सरकारले सरकारी पत्र सार्वजनिक रूपमा प्रस्तुत गरी मात्र योजना अघि बढाउन नेता यादवलृ आग्रह गरेका छन्।

स्थानीय सरकारको भूमिका उल्लेख गर्दै उनले सुशासन कायम गर्न कुनै बहानाबाजी नगरी जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । सार्वजनिक जग्गा अतिक्रमण हटाउने र आफ्नो कार्यक्षेत्रभित्र सुशासन स्थापना गर्ने दायित्वबाट स्थानीय तह पछि हट्न नमिल्ने उनको भनाइ छ ।

हालै सम्पन्न निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ का प्रत्यासी समेत रहेका यादवले दीर्घकालीन काम गर्दा निर्वाचन हार्न सकिए पनि जनताको मन जित्न सकिने धारणा राख्दै सुशासनका मुद्दामा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । आवश्यक परे सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने र समस्या समाधान नभए सडकबाट आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

उनले निर्वाचन परिणामलाई अस्थायी बताउँदै संघर्षलाई स्थायी रूपमा अगाडि बढाउने बताए। साथै, आफूविरुद्ध रहेका व्यक्तिहरूलाई पनि सत्यको पक्षमा भए निसर्त सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस