अन्यत्र कार्यरत गजेन्द्रनारायण सिंह अस्पतालका पाँच चिकित्सक फिर्ता

राजविराज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी भए पनि अन्यत्र कार्यरत पाँच सहित १४ जना विशेषज्ञ चिकित्सकलाई आफ्नै दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रिस्तरीय निर्णय गर्दै पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता गरेका हुन् । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा डा. रोहिता बज्राचार्य, डा. जोसन लाल बज्राचार्य, डा. विशाल कुमार देव, डा. प्रकाश ढकाल र डा. सुशील समदर्शीलाई फिर्ता पठाइएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको अभावमा सेवा प्रभावित हुँदैआएको थियो ।

सोही क्रममा डडेलधुरा अस्पतालमा चार जना, नारायणी अस्पताल वीरगञ्जमा पाँच जना चिकित्सक समेत फिर्ता भएका छन् । डडेलधुरा अस्पतालमा डा. सन्तोष कुमार गुप्ता, डा. मिसन्ता शर्मा, डा. नवीन चन्द्र भट्ट र डा. सुयोग्य वाग्ले तथा नारायणी अस्पताल वीरगञ्जमा डा. सोनीका धरी श्रेष्ठ, डा. सञ्जोग तिमिल्सिना, डा. अरुण ज्ञवाली, डा. मुकेश पौडेल र डा. दिपेश भट्टराईको काज फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सेवा प्रवाह प्रभावकारी बनाउन तथा दरबन्दीअनुसार चिकित्सकको व्यवस्थापन गर्न यो निर्णय गरिएको स्पष्ट पारेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस