जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–२ परवाहामा स्थानीय लोकसंस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको ‘परवाहा लोक संस्कृति उत्सव’ सम्पन्न भएको छ । युवा नाट्यकला परिषद परवाहाको आयोजनामा तथा औरही गाउँपालिकाको सहयोगमा उत्सव सम्पन्न गरिएको हो ।
परिषद्का अध्यक्ष अनिल मिश्रका अनुसार मौलिक लोकसंस्कृतिलाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो । सोमबारदेखि सुरु भएको उत्सव आज समापन गरिएको उनले जानकारी दिए । उत्सवमा मिथिला क्षेत्रका विविध सांस्कृतिक विधा प्रस्तुत गरिएका थिए ।
कार्यक्रमका क्रममा ‘सांस्कृतिक संक्रमण’ तथा ‘सांस्कृतिक पुनरुत्थान कि पुनर्विचार’ विषयमा विचार विमर्श पनि गरिएको थियो । साथै विद्यापति गीत, संस्कार तथा व्यवहारसम्बन्धी गीत, गोधना र गाथा गायन प्रस्तुत गरिनुका साथै लोरिक, दिनभद्री, सलहेस नाच, ऋतुगीत, श्रमगीत तथा नारदी कीर्तनजस्ता लोक प्रस्तुति आकर्षणको केन्द्र बनेका थिए ।
अध्यक्ष मिश्रले आधुनिकताको प्रभावले मौलिक संस्कृति हराउँदै गएको उल्लेख गर्दै यसको संरक्षण अपरिहार्य रहेको बताए । गाउँघरमा रहेका पुराना लोकगीत, नाच तथा परम्परागत ज्ञानको अभिलेखीकरण गरी पुस्तान्तरण गर्ने लक्ष्यसहित उत्सव आयोजना गरिएको उनको भनाइ छ ।
उत्सवमा स्थानीय कलाकार, सांस्कृतिक अभियन्ता, अनुसन्धानकर्ता तथा सरोकारवालाको सहभागिता रहेको थियो । मिथिला क्षेत्रको सांस्कृतिक विविधता उजागर गर्दै परवाहालाई सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य आयोजकले लिएको जनाएको छ ।