मधेशलाइभ । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा बढ्दो दलगत हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई अन्त्य गर्ने उद्देश्यले सरकारले ठोस कदम चालेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि विद्यार्थी र कर्मचारी संगठनहरू दलका “स्लिपर सेल” जस्तै बनेको आरोप लगाए।
उनका अनुसार योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको आधारमा अवसर दिइने प्रवृत्तिले राज्य प्रणालीप्रतिको जनविश्वास कमजोर बनाएको छ। यही विकृतिलाई हटाउन सरकारले अध्यादेशमार्फत शिक्षालयमा दलका झण्डा र कर्मचारीतन्त्रमा दलगत संलग्नता निषेध गर्ने निर्णय गरेको उनले स्पष्ट पारे।
प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो निर्णय संगठन बनाउन नसकेर नभई दीर्घकालीन सुधारका लागि लिएको जिकिर गरे। “अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ,” लेखेका छन्।
उनले अब नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता होइन, विधि, क्षमता र दक्षता नै आधार बन्नुपर्ने उल्लेख गरे। साथै विद्यार्थीले सभ्य र जिम्मेवार राजनीति सिक्नुपर्ने र कर्मचारीले दलभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्नेमा जोड दिए।
यो कदम कुनै दलविरुद्ध नभई प्रणाली सुधार र भविष्य सुरक्षित गर्ने प्रयास भएको प्रधानमन्त्रीको भनाइ छ। उनले आम जनताको साथ र विश्वास आवश्यक रहेको बताउँदै सरकारले जनचाहनाअनुसार काम गरिरहेको दाबी गरे।