राजविराज–यातायात व्यवस्था कार्यालय राजविराजका निमित्त प्रमुख खोसिँदा रुष्ट कामेश्वरप्रसाद रोहिताले राजीनामा दिएको पाइएको छ । अधिकृत छैठो तहका उनी डेढ वर्षदेखि निमित्त प्रमुखका रुपमा कार्यालय चलाइरहेका थिए ।
श्रम तथा यातायात मन्त्रालय, मधेश प्रदेशले गत चैत २३ मा सातौं तहका कार्यालय प्रमुख पठाएपछि उनी रुष्ट भएका हुन् ।
वैशाख ११ मा २१ देखि लागु हुने गरी राजीनामा रोहिताले वैशाख २० पछि कार्यालयमा उपस्थित पनि भएका छैनन् । उनी वैशाख ३१ सम्म घरविदामा बसेका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका–५ का रोहिताले आफु राजिखुशीले राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् । तर, कारण भने खुलाएका छैनन् ।
‘म कुनै कसैको करचापमा नआइ आफ्नै राजिखुशीले साक्षी किनाराको रोहवरमा यातायात व्यवस्था कार्यालय राजविराज, सप्तरीमा अधिकृत छैठो पदबाट वैशाख २१ देखि लागु हुने गरी राजीनामा पेस गरेको’ राजीनामा पत्रमा उल्लेख छ ।
कार्यालय प्रमुख शशिप्रसाद यादवले सनाखत गरेर मन्त्रालय पठाउन राजीनामा पत्रमा तोक लगाए पनि सनाखत भने हुन सकेको छैन् । रोहिताले राजीनामा दिएको बताउँदै कार्यालय प्रमुख यादवले सनाखत भइनसकेको बताए । ‘कारण मलाई थाहा भएन, रोहिताज्यूलाई नै थाहा होला’, उनले भने ।
राजीनामा दिएका रोहिताले पनि कारण खुलाउन चाहेनन् । ‘जागिर खाएको पनि धेरै भइसक्यो’ २/३ वर्ष जागिर अवधि बाँकी रहेका रोहिताले भने, ‘राजीनामा दिएको विषयमा थप पछि स्पष्ट गर्छु ।’ रोहिता मन्त्रालयप्रति रुष्ट रहेको कार्यालय स्रोतले बतायो ।