राजविराज । सामाजिक सञ्जालमा एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले घटनामा संलग्न एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई असार २ गते उनकै घरबाट पक्राउ गरिएको हो। पक्राउका क्रममा उनको साथबाट प्रिगाम्याक्स १ ट्याब्लेट, ट्रोह्मो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट तथा नाइट्राजोम ५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रमेशले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको भिडियो आफैंले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। भिडियो सार्वजनिक भएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो।
उक्त घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
घटनामा पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।