काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको क्रिटिकल केयर तथा ट्रमा सेन्टरको काम नरोकिने स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बताएकी छन्।
प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिइन्। तर, संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले त्यस अवधिमा गम्भीर घाइते तथा दुर्घटनाका बिरामीलाई तत्काल उपचार उपलब्ध गराउन लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको उनले बताइन्।
मन्त्री मेहताका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बिरामीलाई उपचारका लागि काठमाडौं पुर्याउनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले सरकारले तत्काल सेवा विस्तार र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाएको हो।
लहान प्रादेशिक अस्पतालमा सीटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, ब्लड बैंक तथा अन्य आवश्यक स्वास्थ्य पूर्वाधार उपलब्ध रहेकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्न सकिने उनको भनाइ छ।
“लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन,” मन्त्री मेहताले भनिन्, “ढल्केबरमा नयाँ संरचना तयार नभएसम्म नागरिकलाई तत्काल उपचार सेवा उपलब्ध गराउने यो अन्तरिम व्यवस्था हो।”
उनले ढल्केबरमा दीर्घकालीन संरचना निर्माण भइरहेका बेला लहानमा तत्काल सेवा विस्तार गर्नु एकअर्काको विरोधमा नरहेको स्पष्ट पारिन्। आवश्यकताका आधारमा देशका विभिन्न स्थानमा ट्रमा सेन्टर र ट्रमा युनिट विस्तार गर्ने सरकारको नीति रहेको उनले बताइन्।
“दुर्घटनामा परेका नागरिकलाई समयमै उपचार उपलब्ध गराउनु र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्नु नै सरकारको मुख्य उद्देश्य हो,” उनले भनिन्।
ढल्केबरमा निर्माणाधीन संरचनाको कामलाई तीव्रता दिन तथा लहानमा उपलब्ध पूर्वाधारको उपयोग गर्दै तत्काल ट्रमा सेवा सञ्चालन गर्न जनप्रतिनिधि र सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको मन्त्री मेहताले बताइन्।