राजविराज । मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवले सङ्घीयता र प्रदेश खारेजीको कुरा स्वाभिमान र पहिचानमाथिको प्रहार भएको बताएका छन् ।
सप्तरीको राजविराज स्थित नेपाल पत्रकार महासंघको सभाकक्षमा सोमबार आयोजित वैद्य–प्रकाश मानव अधिकार पुरस्कार–२०८३ प्रदान समारोहमा बोल्दै उनले पछिल्लो समय सङ्घीयताको विषयमा गलत भाष्य निर्माण भइरहेकोले सजग रहन आग्रह गरे । १९९० सम्म मधेशका पुर्खाहरुले काठमाडौँ छिर्नका लागि भिसा लिनु परेको प्रसङ्ग चर्चा गर्दै उनले भने ‘सङ्घीयता र प्रदेश खारेजीको कुरा स्वाभिमान र पहिचानमाथिको प्रहार हो, यसको रक्षाका लागि हामी सबै रचेत रहौँ ।’
परिवर्तन विरोधी तत्त्वहरुले सङ्घीयता खर्चिलो भयो भनी गलत प्रचारबाजी गरिरहेको चर्चा गर्दै उनले देशको कुल बजेटको करिब १३–१४ प्रतिशत बजेट मात्र प्रदेश र स्थानीय तहलाई र बाँकी बजेट संघमै खर्च गर्ने गरेको बताए । ‘देशको कुल बजेट १९ खर्बमध्ये सङ्घीय सांसदको भ्रमण खर्च मात्र एक अर्ब ७३ करोड, पदाधिकारी र कर्मचारीमा १ खर्ब ५७ अर्ब खर्चिने गरेको छ तर १९ खर्बको बजेटमा प्रदेशको पदाधिकारी तथा कर्मचारीहरु समेतमा मात्र १४ अर्ब पाउने गरेको छ’ सभामुख यादवले प्रश्न गर्दै भने ‘मात्र ०.६४ प्रतिशत प्रदेशको खर्चले सङ्घीयता कसरी भार हो ?’
३४औँ प्रकाश स्मृति दिवसको अवसरमा मानवअधिकारकर्मी एवम् सामाजिक अभियन्ता राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार–२०८३ प्रदान गरिएको छ । प्रमुख अतिथि सभामुख यादवले पासवानलाई नगद ११ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका छन् । उनी मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । पुरस्कृत अधिकारकर्मी पासवान इन्सेकका मधेश प्रदेशका संयोजक समेत हुन् । सोही कार्यक्रममा उर्मिला देवी झा स्मृति मैथिली गीत गायन पुरस्कार शिलम देवी झालाई प्रदान गरिएको छ ।
कार्यक्रममा उच्च अदालत जनकपुर राजविराज इजलाशका मुख्य न्यायाधीश सुभाष पौडेल, प्रदेश सभा सदस्य माला कर्ण, निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरी, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देव, अवकाशप्राप्त शिक्षक मन्जु श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरे ।
पुरस्कारका संस्थापक वैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन इन्सेकका कोशी प्रदेश संयोजक मनोहर पोखरेलले गरे ।
https://youtu.be/Q90wdwnfab4?si=5TCFo93cZaSQH5Zq