काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न स्थानबाट फेला परेका १ हजार ३४४ शवमध्ये १ हजार ३० शवको सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।
नेपाल प्रहरीले पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरेपछि पहिचान हुन नसकेका शवलाई ‘पहिचान नभएका र बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिएको जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार शव पहिचानका लागि मृतकका १ हजार २६० तथा सम्भावित आफन्तका १ हजार १२ जनाको डीएनए नमुना संकलन गरिएको छ ।
प्रहरीका अनुसार व्यवस्थापन गरिएका प्रत्येक शवलाई संकेत नम्बर प्रदान गरिएको छ । शव राखिएको स्थानको जीपीएस लोकेसन, फोटो, नक्सा तथा अन्य आवश्यक विवरणसमेत अभिलेखमा सुरक्षित राखिएको छ ।
जमिनमुनि व्यवस्थापन गरिएका शवको फोटो, डीएनए नमुना, संकेत नम्बर, हुलिया, सनाखतसम्बन्धी विवरण, शव परीक्षण प्रतिवेदन, मुचुल्का, व्यवस्थापन मिति र स्थानको विवरणसमेत सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।
भविष्यमा कुनै परिवार वा आफन्तले आफ्नो सदस्यको शव भएको दाबी गरेमा वैज्ञानिक तथा कानुनी प्रमाणका आधारमा पहिचान गरी शव परिवारलाई हस्तान्तरण गर्न सकिने प्रवक्ता काफ्लेले बताउनुभयो ।
नेपाल प्रहरीले पहिचान हुन नसकेका १ हजार २७० शवको विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । बाढीमा मृत्यु भएका १ हजार ३४४ जनाको शव हालसम्म विभिन्न जिल्लाबाट फेला परेको प्रहरीले जनाएको छ । Image Source: ekantipur
