जनकपुरधाम । वरिष्ठ मैथिली साहित्यकार तथा मैथिली भाषाका विद्वान् डा. रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको छ।
शनिबार साँझ जनकपुरधामस्थित एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको परिवारजनले जनाएको छ। परिवारिक श्रोतका अनुसार डा. लालको साँझ करिब ५ः३० बजे रामजानकी अस्पतालमा निधन भएको हो। उनी केही समयदेखि स्वास्थ्यसम्बन्धी समस्याका कारण उपचाररत थिए।मैथिली विषयमा विद्यावारिधि (पीएचडी) गरेका डा. लाल नेपाल राष्ट्र बैंकको सेवाबाट अवकाशप्राप्त कर्मचारी थिए। उनी जनकपुरधाम उपमहानगरपालिका–११ स्थित आफ्नै निवासमा बस्दै आएका थिए।
मैथिली साहित्यमा कथा, कविता, गीत, लेख, पटकथा, साक्षात्कार, यात्रा वृत्तान्त तथा लोकसाहित्यलगायत विभिन्न विधामा उनले महत्वपूर्ण योगदान दिएका छन्। उनको पहिलो प्रकाशित मैथिली रचना ‘सरस्वती वन्दना’ गीत सन् १९६० मा प्रकाशित भएको थियो।
उनका प्रमुख कृतिहरूमा ‘साक्षात्कार’, ‘माधव नहि अएला मधुपुरसँ’, ‘हमर विदेश भ्रमण’, ‘महाकवि विद्यापति’ र ‘खिस्सा पिहानी’ रहेका छन्। त्यस्तै ‘धनुषाधाम और मणिमण्डप’ उनको पर्यटनसम्बन्धी कृति हो। उनी ‘विद्यापति’ सिरियलका रचयिता तथा मैथिली त्रैमासिक ‘नैमिकानन’का सम्पादकसमेत थिए।
उनका विभिन्न रचनाहरू विद्यालय तथा महाविद्यालयका पाठ्यक्रममा समेत समावेश छन्। मैथिली भाषा तथा साहित्यको विकासमा सक्रिय डा. लाल विविधा मैथिली मञ्चका संस्थापक सचिव, मैथिली साहित्य परिषद्का सदस्य तथा मैथिली साहित्यकार सभाका सल्लाहकारसमेत रहेका थिए।
साहित्य क्षेत्रमा पु¥याएको योगदानका लागि उनले मिथिला रत्न, ज्योतिरीश्वर साहित्य सम्मान, वैदेही प्रतिभा पुरस्कार, त्रिमूर्ति पुरस्कार, नेपाल सरकारको प्रादेशिक प्रतिभा पुरस्कार तथा नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार लगायतका सम्मान प्राप्त गरेका थिए।
डा. लालको निधनले मैथिली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकार तथा साहित्यप्रेमीहरूले बताएका छन्। उनका कृति, सिर्जना र साहित्यिक योगदानले उनलाई मैथिली साहित्यको क्षेत्रमा दीर्घकालसम्म स्मरणीय बनाइरहनेछ।
डा. लालको जन्म १९४३ मार्च २ मा धनुषाको साविक देवडिहा गाविस–३, खिरखिरिया गाउँमा भएको थियो। उनी पछिल्लो समय जनकपुरधाम उपमहानगरपालिका–११ स्थित निवासमा बस्दै आएका थिए।
दिवंगत साहित्यकार डा. रेवतीरमण लालप्रति साहित्य क्षेत्रका व्यक्तित्वहरूले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।