काठमाडौं । सरकारले विभिन्न महत्वपूर्ण विषयमा निर्णय गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ।
त्यस्तै, लामो समयदेखि बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी ‘समिति गठन आदेश, २०८३’ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
सरकारले जापानको आइची–नागोयामा आयोजना भएको २०औँ एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने महिला कबड्डी र करातेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
यसैगरी, नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
मन्त्रिपरिषद्का यी निर्णयमध्ये विपद् जोखिम न्यूनीकरण, भूमिसम्बन्धी समस्या समाधान, खेलाडीको प्रोत्साहन तथा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई महत्वपूर्ण मानिएको छ।