ज्यान मार्ने उद्योग मुद्दामा कञ्चनरुपका दुई जना पक्राउ

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–८ मा झै–झगडा तथा कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–८ बस्ने १९ वर्षीय महेश पासवान र सोही स्थानका १९ वर्षीय श्रीचन्द्र मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार राति करिब ९ः१० बजे कञ्चनरुप–८ स्थित विद्युत् कार्यालय नजिक झै–झगडा तथा कुटपिट भएको थियो ।

कुटपिटमा कञ्चनरुप–८ का १८ वर्षीय राहुल सरवरिया, १९ वर्षीय श्रवण सदा र २८ वर्षीय राजु सदाको टाउकोमा चोट लागेको थियो । उनीहरू मध्यम अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाबारे राति करिब ९ः१५ बजे इलाका प्रहरी कार्यालय कञ्चनपुरमा सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पासवान र मण्डललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कञ्चनपुरमा ल्याएको जनाएको छ।

घटनासम्बन्धमा प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी दुवै जनालाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको हो। उनीहरूलाई सप्तरी जिल्ला अदालतमा पेश गर्दा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस