रावणका दस टाउकाभित्र लुकेको जीवनदर्शन

डा. सुषमा साउद

तिहारको फुर्सदमा मैले पनि रामायण फिल्म हेरेँ । यसमा मलाई रावणका १० टाउकालाई प्रस्तुत गर्ने तरिका निकै मन पर्यो ।

डा. सुषमा साउद

उनका १० टाउकालाई एकै ठाउँमा जोडिएका टाउकाका रूपमा देखाउनुभन्दा फिल्मले उसको मनभित्रका फरक–फरक सोच, स्वभाव र तिनबीचको द्वन्द्वका रूपमा देखाएको छ । निर्देशकको यो कल्पना र अभिनेताको प्रस्तुतिको प्रशंसा गर्नैपर्छ । यसमा हाम्रो आफ्नै जीवनसँग जोडिएको गहिरो सन्देश पनि छ । वास्तवमा हामी सबैको मनभित्र पनि अनेकौँ रावणहरू छन् ।

एउटा सोचले रिसाउन उक्साउँछ, अर्कोले संयम राख्न सम्झाउँछ । एउटाले बदला लिन भन्छ, अर्कोले क्षमा गर्न सिकाउँछ । कहिले लोभ बोल्छ, कहिले विवेक । कहिले अहङ्कार हाबी हुन्छ, कहिले विनम्रता । कहिले डरले रोक्छ, कहिले साहसले अघि बढ्न प्रेरित गर्छ ।

यी सबै सोच एउटै मानिसभित्र हुन्छन् । फरक यत्ति हो, निर्णय गर्ने बेला हामी कुन सोचको कुरा सुन्छौँ ?
रावणसँग ज्ञान थियो, शक्ति थियो, सामर्थ्य थियो । तर गलत निर्णयबाट जोगिन ती गुण पर्याप्त भएनन् । १० सोचमध्ये अहङ्कार र अनैतिकले जित्दा उनी समाप्त भए ।

हाम्रो जीवनमा पनि ज्ञान र क्षमता हुनु महत्त्वपूर्ण छ । तर तिनलाई कुन उद्देश्यमा प्रयोग गर्छौँ र कठिन परिस्थितिमा कस्तो निर्णय लिन्छौँ भन्ने कुरा अझ महत्त्वपूर्ण हुन्छ ।

हाम्रै रोजाइले सम्बन्ध बनाउँछन् र बिगार्छन् पनि । अवसर सिर्जना गर्छन् र गुमाउँछन् पनि । कहिलेकाहीँ एउटा गलत निर्णयले वर्षौंको मेहनतलाई धुलिसात पारिदिन्छ । त्यसैले जीवनको ठूलो लडाइँ अरूसँगँ हुन्छ भन्ने छैन । कहिलेकाहीँ लडाइँ आफ्नै मनभित्रका फरक सोचहरूबीच पनि हुन्छ ।

हामीभित्र रिस पनि हुन्छ, करुणा पनि । लोभ पनि हुन्छ, त्याग पनि । अहङ्कार पनि हुन्छ, विवेक पनि । सबै सोच आउनु स्वाभाविक हो । तर कुन सोचलाई आफ्नो व्यवहार र निर्णयमा उतार्ने भन्ने छनोटले हाम्रो जीवन कस्तो हुने भन्ने तय गर्छ ।

आफूभित्रका सबै आवाजलाई रोक्न नसकिएला, तर सही आवाज सुन्न र त्यसअनुसार चल्न अवश्य सिक्न सकिन्छ

Author:



क्याटोगरी छान्‍नुहोस