महिला हिंसा अन्त्यका लागि घर–घरबाट पाइला चाल्नु पर्नेमा जोड

राजविराज । सप्तरीमा एक कार्यक्रमका सहभागी अधिकारकर्मीहरुले महिला हिंसा अन्त्यका लागि घर–घरबाट पाइला चाल्नु पर्नेमा जोड दिएका छन् । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको बुधवार आरम्भ गर्दै राजविराजमा आयोजित अन्तरक्रियाका सहभागीहरुले यस्तो बताएका हुन् ।

महिला हिंसा अन्त्यकालागि अधिकारकर्मीहरुले घरदेखि कार्य क्षेत्रसम्म मिलेर काम गर्नु पर्ने बताए । सप्तरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेकका सदस्य बैद्यनाथ झा, इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेल, उच्च अदालत बार इकाईका अध्यक्ष रमानन्द साहले महिलामाथि हुने मानवताविरोधी हिंसा मेलमिलापमार्फत मिलाउने कार्य अन्त्यका लागि सरकारले ल्याएको नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

यसैगरी जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, एकल महिला समूहकी अध्यक्ष अनीता देवकोटा, साहित्यकार करुणा झा, प्रादेशिक कानुनी सहायता समितिकी किरण साह, जिल्ला कानुनी सहायता समितिका रामप्रसाद गौतम, सप्तरी युथका बिष्णु यादव, हुर्क नेपालका अध्यक्ष पार्थो सरकारले पनि महिला हिंसा अन्त्यकालागि सवै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवाल, उपाध्यक्ष मीना साह, नगर बाल सञ्जालकी अध्यक्ष अनीषा ठाकुर, मैथिली महिला परिषदकी प्रतिमा देव, इन्टरनेशनल एलर्टका सरोज भुषाल, समग्र जनउत्थान केन्द्रका रामभरोसी गुप्ता, कृष्णकुमार साह, सुष्मा गुप्ता, महिला मानवअधिकार रक्षक सञ्जालकी मनु खनाल, गीता पाण्डे, साधना कर्ण, पत्रकार ललीता साह, अधिवक्ता मीना देव, पार्वती जोशी लगायतले मन्तव्य राखे ।

यसैगरी कार्यक्रमपछि आयोजना गरिएको बैठकबाट इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेलको संयोजकत्वमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा एकल महिला समूहकी अध्यक्ष अनीता देवकोटा र सचिवमा हुर्क नेपालका अध्यक्ष पार्थो सरकार चयन भएका छन् । वैठकबाटै लैङ्गिक हिंसाविरुद्ध १६ दिनसम्म विभिन्न कार्यक्रम तय गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस