नदीको कटानले बस्ती नै वगाउने खतरा

राजविराज । ‘सिडिओ हुँदै मन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मले स्थलगत अवलोकन गरिसक्नु भएको छ, तर बलान विहुल गाउँपालिका–४ वेल्हीस्थित बलान नदीको तटबन्ध निर्माण गराउनेतर्फ कोही गम्भिर भएन’ उनले भने–‘उहाँहरु आउनुहुन्छ, फोटो सेशन गर्नुहुन्छ र जानुहुन्छ, समस्या ज्यूँकात्यूँ ।’
सप्तरीको बलान विहुल गाउँपालिका–४ का जिवछ प्रसाद गुप्ता भन्छन्–‘२०३३ सालदेखि वर्षेनी वर्षायाममा नदीमा बाढि आएर खेतीयोग्य कटान हुँदै आएको छ नै, पछिल्लो पटक २०५४ सालतिर त ७०–८० परिवारको बसोवास रहेको लवका टोल वेल्ही बस्ती नै विस्थापित भयो ।’

अझैसम्म तटबन्ध कटान जारी रहेको भन्दै उनले अवस्था यस्तै रह्यो भने ५ सय परिवारको बसोवास रहेको बेल्ही बस्ती पनि विस्थापित हुनसक्ने उच्च सम्भावना रहेको बताए । सप्तरी–सिरहा जिल्ला छुट्याउने बलान नदीको पूर्वी तटबन्धमा कटान लाग्दा उनीहरुमा त्रास बढेको हो । झण्डै १ किलोमिटर तटबन्ध कटान भइसकेको तथा कटान अझै जारी रहेकोले जाग्राम बसेर रात काट्नुपर्ने बाध्यता खेप्दै आएको सोही ठाउँका रामचन्द्र भण्डारीले दुखेसो गरे । ‘बस्तीमा ३ हजारबढी व्यक्तिको बसोवास रहेपनि सरकारले तटबन्ध मर्मततर्फ ध्यान पुर्याएको छैन’ उनले भने–‘नदीमा लागेको कटानको विषयमा जिल्लाका सिडिओदेखि स्थानीय, प्रदेश र संघ सरकारकासाथै सम्वन्धित सबै सरोकारबालालाई अवगत छ, तर समाधानकालागि कसैले पहल गरेकै छैन ।’
उनले कुनै पनि बेला नदीको बाढी बस्तीमा पसेर तहसनहस गर्नसक्ने खतरा बढ्दै गएको बताए । ‘एकातर्फ जल तथा मौसल विज्ञान विभागले सोमबारदेखि ५ दिन देशभर भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ भने अर्कोतर्फ नदीमा कटान बढ्दै गएकोले थप त्रास बढेको छ’ उनले भने–‘त्यसैले बस्तीमा हुनसक्ने जनधनको क्षतिबाट जोगाउन अविलम्व तटबन्ध मर्मत कार्य हुनुपर्ने जरुरी छ ।’
हजारभन्दा बढी विघा जग्गा कटान
स्थानीयहरुका अनुसार वि.स. २०३३ सालअघि नदी आफ्नै सतह भएर वग्ने गर्थियो। पछि स्थानीयहरुले सिचाई गर्नकालागि पैनी बनाएर पूर्वतर्फ नदीको पानी ल्याउन थाले । नदीमा वहाव बढ्दै जाँदा पैनी नै नदीमा परिणत भए र खेतीयोग्य जग्गाहरु कटान हुन थाले ।
भण्डारी भन्छन्–‘२०३३ साल यता हजारौं विघा खेतीयोग्य जग्गा नदीले कटान गरे, नदी नियन्त्रणतर्फ कार्य नहुँदा अझै जग्गा कटान रोकिएको छैन भने अर्कोतर्फ बस्ती पनि उच्च जोखिममा परेको छ ।’ समस्या पुरानै रहेपनि समाधानतर्फ आफ्नै गाउँ ठाउँका ठुल–ठुला व्यक्तिहरुले साथ नदिएको उनले गुनासो गरे । ‘हाम्रौ गाउँसँग टाँसिएको गाउँ हो, मौवहा। तत्कालीन मौवहा वेल्ही गाविसकै परमानन्द झा ज्यू उप राष्ट्रपति पनि रहिसक्नु भएको छ, वर्तमानमा हेर्दा मधेशी आयोगका अध्यक्ष विजय दत्त पनि वेल्हीकै हुनुहुन्छ, तर यहाँका जनता सधै समस्यामै रह्यो र छन पनि’ उनले भने–‘अन्यसँग के अपेक्षा गर्नु?’
‘हाम्रो बजेटले धान्नसक्ने अवस्था छैन’
गाउँपालिका अध्यक्ष दयानन्द गोइतले गाउँपालिकाको बजेटले नदीको तटबन्ध निर्माण कार्य पुरा गर्नसक्ने अवस्था नरहेको बताए । ‘प्रयास नगरेको पनि होइन, तर हाम्रो बजेटले धान्नसक्ने अवस्था छैन’ उनले भने–‘तटबन्ध निर्माणका निम्ति प्रदेश र संघ सरकारलाई पत्राचार गर्दा पनि सुनुवाइ भएन ।’
तटबन्ध निर्माण गर्न ठुलो बजेटको आवश्यकता पर्ने हुनाले आफुहरुसँग प्रदेश र संघ सरकारलाई आग्रह गर्ने वाहेकको विकल्य नरहेको अध्यक्ष गोइतले बताए । तथापी, तटबन्ध मर्मतकालागि तयारी थालिएको उनले मधेश लाइभलार्र्र्ई जानकारी दिए ।
‘स्थानीय सरकारलाई गम्भिर हुनु आवश्यक छ’
जिल्ला प्रशासन कार्यालय सप्तरीका सुचना अधिकारी आनन्दकुमार ठाकुरले नदी कटान स्थल अनुगमन गरेको फर्किएको बताए । ‘त्यहाँ तत्काल तटबन्ध मर्मत कार्य अघि बढाउनुपर्ने हुन्छ, त्यसकालागि हामीले माथि जानकारी गराइसक्यौं, बाँकी मर्मत कार्य सुरु गर्न यसअघि नै स्थानीय सरकारलाई ५ हजार बोरा उपलब्ध गराईसक्यौं’ उनले भने–‘तटबन्ध मर्मतकालागि स्थानीय सरकारलाई गम्भिर हुनु आवश्यक छ ।’

#बाढी #बलान नदी

Author:



क्याटोगरी छान्‍नुहोस