सप्तरीमा १५ जनाको परीक्षण हुँदा ६ जनामा संक्रमण पुष्टि

राजविराज, १० वैशाख । सप्तरीमा शुक्रवार पनि छ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा १५ जनाको पिसीआर परीक्षण गरिएकोमा छ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि तिलाठी कोइलाडी गाउँपालिकाका एक कर्मचारीको एन्टिजिन परीक्षणबाट संक्रमण देखिएकोमा पिसीआर रिपोर्ट पनि पाजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

उनका अनुसार शुक्रवार संक्रमण पुष्टि भएकामध्ये एक जना राजविराज नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक हुन् । उनी ५५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिए ।

यसैगरी राजविराज–५ का २१ र २५ वर्षीय पुरुष, वडा नम्वर ११ का ६२ वर्षीय पुरुष र खडक नगरपालिकास्थित कल्याणपुरका २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या १२ पुगेको निमित्त प्रमुख यादवले मधेशलाइभलाई बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस