पीडित अवसर नपाउने भए मधेशी कोटा खारेजी गरौं !

कौशल गोपालवंशी

म सधै मधेस आरक्षण कोटाको लागि लेख मार्फत आन्दोलन गर्ने, आज भन्दै छु मधेसी कोटा खारेजी गरौ। मधेस आन्दोलनबाट प्राप्त महत्वपूर्ण उपलब्धिहरु मध्ये आरक्षण पनि एक हो । मधेसमा बसोबास गर्ने पिछडिएका मधेसीहरुको लागि आरक्षणको व्यवस्था गरिएको हो। तर मधेसी कोटाको फाईदा आफुलाई गैर मधेसी भनिने उन्नत बर्गका मान्छेले लिएको देखे पछि कि त मधेसी कोटा खारेजी गरौं नभए यसलाई व्यवस्थापन गरि पिछडिएका वर्गहरुमा स्वस्थकर प्रतिस्पर्धा गराउ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै ठाउमा मधेसी कोटाको चरम दुरुपयोग हुँदै गरेको देखिन्छ ।

भरखरै सकिएको विभिन्न राजनीति पार्टीको महाअधिवेशनको परिणाम हेर्दा पनि मधेसी कोटाको चरम दुरुपयोग भएको देख्न पाईयो। राजनीतिरुपमा पिछडिएका व्यक्तिहरुको लागि छुट्टयाइएको कोटाबाट बौद्धिकरुपमा सम्पन्न देखिने राजनीतिकर्मीहरुले लिएको फाइदा देख्दा, अब कोटा हटाएकै बेस हुन्छ जस्तो लाग्ने थाल्यो । नेपालको सवै भन्दा ठुलो धनी भनिने एक जना महासय पनि मधेसी कोटाबाट कुनै राजनीति पार्टीको केन्द्रिय सदस्यमा विजयी भएको भन्दै विजयजुलुस निकालेको देखियो । यो विजय जुलुस हेर्दा बच्चामा शिक्षकले घरबाट गृहकार्य गरेर ल्याउ भन्दा दिदी बहिनीबाट गृहकार्य गराएर शिक्षक अगाडि छाती फुलाएर सानले गएजस्तै लाग्यो । त्यति मात्र कहाँ हो र ! पुर्वमन्त्री ज्युहरुपनी मधेस कोटाबाट सहमहामन्त्री, केन्द्रिय सदस्य आदि पदमा निर्वाचित भएको देख्दा मधेसको पिछडिएका बर्गलाई सधै पछाडी धकेल्ने काम मधेसका उन्नत बर्गका मान्छेले नै पिछडिएका बर्गको भागको हिसा खाईदिएर हो जस्तो लाग्यो। तर अर्को अनौठो कुरा त के हो भने हालसालैमा भएको विभिन्न पार्टीहरुको महाअधिबेशनमा मधेसी कोटाबाट पदाधिकारीमा जित्ने नेताकर्याकर्ताहरुले मधेस/मधेसबादी पार्टीले गरेको आन्दोलनलाई कहिले समर्थन गरेको देखिएन्न उल्टै मधेसको जायज मागहरुको बारेमा कहिले बोलेको देखिएन तर आज तिनै मधेस आन्दोलनबाट प्राप्त आरक्षण कोटाको प्रयोग गरेर पार्टी भित्र आफ्ना स्थान पाएका छ्न ।

पार्टीको चुनावमा मात्र होईन, बिगतको तिनै तहमा भएको पदाधिकारीको संख्या हेर्ने हो भने महिला कोटामा सामन्ती परिवारको पहुँच धेरै नै देखिन्छ । राजनीतिमा महिलाको पहुँच हुनुपर्छ भनेर महिला कोटाबाट राजनीतिमा छिरेकाहरु आफ्नो परिवारमा भएका पुरुषकै हेडलाईट बनेर आएका छन।

अदि आरक्षण कोटालाई सहि व्यवस्थापन गर्न सकिएन भने भोलिको दिनमा पिछडिएका बर्गलाई त्यहि समुदायको मान्छेले यिनलाई झन पछाडि धकेल्ने काम गर्ने छ। आरक्षणले मधेसलाई झन कम्जोर हुदै गरेको देखिन्छ । आफुलाई केन्द्रिय स्तरको राजनेता ठन्ने व्यक्तिले यसरी कोटाबाट केन्द्रसम्म पुग्न थाले पछी, मधेसमा रहेको पिछ्ला वर्गलाई कसरी केन्द्रिय नेतृत्वमा पुगाउने त । सधै काठमाडौ/मधेस बाहिर बस्ने नेतागनले ती पीडित समुदायको आरक्षणमा गएकोले कसरी केन्द्रसम्म पीडितको लाड्छ भन्ने हेर्न बाकी छ।

त्यसैगरी सरकारी तथा गैरसरकारी जागीरमा पनि यस्तै एउटा अर्को समुहको भिड छ। स्थायी पदको लागि लिईने विभिन्न परिक्षाहरुको सिफारिसको नतिजा हेर्दा पनि यस्तै एउटा नया समुहले मधेस कोटाको दुरुपयोग गरेको देख्न पाईन्छ । माध्यमिकसम्म्को शिक्षामा राम्रो संग पढ्ने अवसर नपाएको बिद्यार्थीहरुको लागि दिईएको आरक्षणमा नर्सरी देखी स्नातकोत्तरसम्म्को शिक्षा भौतिक सुखसुबिधा तथा ठुलाठुला लगानीकर्ताको लगानीमा बनेका निजि विद्यालयमा पठनपाठन गरेका वर्गले जागीर खाएको देख्न पाईन्छ । यी वर्गका व्यक्तिहरुलाई आफु मधेसी हो भन्ने भावना अलिकति पनि होइन । यी वर्गका व्यक्तिहरुले अवसर लिनेवेलामा मात्र मधेसी बन्छ त्यो पनि नेपाल सरकारको परिक्षा र अन्तरवर्तामा मात्र मधेसी बन्छ फेरि परिक्षा बाहिर आउदा यिनिहरु गैर मधेसी बन्छ । यस्ता वर्गाका मान्छेहरुले त कति सम्म गर्छ्न भन्दा आफ्नो नाममा भएको मधेसी पहिचान भएको शब्द पनि हटाउने गरेको देख्न पाईन्छ । जस्तै साहको साटो शाह, यादवको साटो अधिकारी, रायको साटो राई आदि । यस्ता वर्गका मान्छेहरु प्रायः गैर भौगोलिक मधेस हुन। यिनिहरु धेरैले कोर मधेसबाट बसाइँसराइ गरि पहाडीको बाहुल्यता भएको ठाउँमा बसोबास गर्दै गरेको पाइन्छ । यिनिहरुले आफ्नो नाममा परिवर्तन गर्न सकेन तर आफ्नो सन्तानको नामको पछाडिको टाईटल चाहिँ परिवर्तन गर्छ्न । जातिबादको बिरोधमा यस्तो गर्ने भए आफ्नो टाईटल हटाएर पहाडी जातीयसंग मेलखाने टाईटल किन राखेको त ? यो बाट प्रष्ट हुन्छ कि यिनीहरू जातीबादी बिरोधि होईन यिनिहरु त आफुलाई मधेसी भएकोमा लज्जित छ्न ।मधेसी भन्दा लज्जित हुने अनि मधेसीकोटामा अवसर पाउन अगाडी आउने ?

आरक्षणमा लडनको लागी ग्रामीण भेगबाट सरकारी विद्यालयबाट पढेलेखेकालाई मात्र अवसर पाउने खालको नीति ल्याउनुपर्ने देखिन्छ । नत्र प्रत्येक १० बर्ष आरक्षण परिमार्जन हुदा राज्यले मधेसीको पहुँच भयो भनेर आरक्षण काटिन्छ तर मधेसको गाउको अवस्था जस्ताको जस्तै रहन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस