गोलट ( कथा, थारू भाषामा)

मुना चौधरी
गुलाबको गोलट भएको थियो । गोलट थारू जातिको एउटा पुरानो प्रथा हो । गोलट भनेको एकातिरका एउटै परिवारका दाजु र बहिनीलाई अर्कोतिरका एउटै परिवारका दाजु र बहिनीसित सानैमा बिहे गराउने प्रथा हो । गुलाब दिदी थिइन् । गुलाबका भाइ भलिराम थिए । यी दुबै दिदी भाइको विवाह छिमेकी गाउँका एकै परिवारका दाजु, सतराम र बैनी राधियासित भएकाे थियो । यिनीहरूका विवाह बुबाआमाले उनीहरूका मन्जुरीविना नै गराइदिएका थिए । त्यतिवेला उनीहरू सानै थिए ।

गुलाबको विवाह सतरामसित र गुलाबको भाइ भलिरामको विवाह सतरामकी बहिनी रधियासित भएको थियो । यता गुलाब र भलिराम दिदी र भाइ थिए भने उता सतराम र रधिया दाजु बहिनी थिए । उनीहरूलाई समाजले विवाहको मण्डपमा विवाहको महत्व सम्झाएर बसाए तर, जीवनलाई नबुझेका उनीहरू मण्डपमा रमाइलो मानेर बसे । खेल सक्झेर विवाहका विधिहरू पूरा गरे ।

उनीहरू ठूलो भएपछि गुलाबको श्रीमान् सतराम गुलाबलाई स्विकार्न अस्विकार गरे । कारण सतराम अर्कै केटीको प्रेममा थिए । यताबाट भलिरामले निर्णय लिँदै सतरामलाई भने, मेरी दिदी गुलाबलाई तपाईँले अपनाउनु भएन भने म पनि तपाईकी बैनी रधियालाई अपनाउँदिनँ ।

म गुलाबलाई अपनाउन सक्दिनँ । म अरू कसैको प्रेममा छु । सतरामले भलिरामलाई भने । मेरी दिदीको गोलट तोड्ने भए मेरो दैलोमा तपाईं कहिले टेक्नुपर्दैन । भलिरामले यताबाट भिनाजु र उताबाट जेठान पर्ने सतरामलाई भने ।

यस्तो समस्या आएपछि गुलाबका बुबाआमाले समाज गुहारे । समाज बस्यो । समाजले २ परिवारका ४ जनाको विवाह टुट्न लागेको देखे । सतरामले गुलाबलाई अस्वीकारे पनि भलिरामले रधियालाई स्वीकार्नुपर्ने निर्णय सुनायो । रधिया भलिरामको घर दुलही आइन् तर, भलिरामकी दिदी गुलाब सतरामको घर गइनन् ।

गुलाबको गोलट विवाह टुट्यो । गोलट टुटेको ठुलै आरोप गुलाबलाई लाग्यो । अर्को वर्ष गुलाबको अर्कै गाउँमा बाआमाले समध गराए । दोस्रो पल्ट हुने विवाहलाई समध भनिन्छ । त्यही वर्ष गुलाबका श्रीमानलाई पिषालु सर्पले टोकेर ज्यान गुमाए । गुलाब विधुवा भइन् ।

उमेर नपुग्दै उसको गोलट विवाह भयो त्यसपछि समध भयो । होइन गराइदिए समाजले २ पल्ट विवाह । १ पल्ट गोलट अर्को पल्ट समध विवाह । चुलबुले बालमस्तिस्कमा उसलाई गोलट विवाह टुटेको आरोप लाग्यो । वयस्क हुँदै गर्दा विधुवाको ट्याग झुन्डियो । २ ओटा उपाधि पाइन् । त्यसपछि गुलाबको कहिले विवाह भएन । माइतीमै आजीवन बसिन् ।

के आरोप सह्न मात्र गुलाब जन्मेकी हो ? कसैले लगाइदिएको सिन्दुरको भरमा उसले दिएको विधुवाको उपाधि धारण गर्ने जिम्मा लिन मात्र ऊ बनेकी हो ? परम्परा र संस्कृति जहिले छोरीको टाउकोमा गएर किन थुप्रिन्छन् ? बृद्धा गुलाबको मनमा अचेल यस्तै यस्तै धेरै प्रश्नहरू खेल्छन् ।
====================================
गोलट (थारू भाषामा)

गुलाबके गोलट भेलछेलै । गोलट थारू जाइतके एकटा पुरनका वियाह प्रथा चियै । गोलटके मतलब एके परिवारके भाइ, बहैनके दोसर दिसराके एके परिवारके भाइ, बहैनसे बच्चे बेरमे बियाह कैर दैवला प्रथा चियै ।
गुलाब जेठकि बहैन या ने कि बरकी दैया छेलै भलिरामके । गुलाबके भाइ भलिराम छेलै । यी दुनु भाइ बहैनके बियाह परोसिया गामके एके घरके सतराम या रधियासङे भेल रहै । एकरौके वियाह एकरौके मन्जुरी बेगर बापमहताइर कैरदेने रहै । ओइबेर एकरौके छोटे छेलै ।
गुलाबके बियाह सतराम जरे या गुलाबके भाइके बियाह सतरामके बहैन रधियासङे भेल रहै । अनसे गुलाब या भलिराम भाइबहैन छेलै । ओने भरसे सतराम या रधिया भाइबहैन छेलै । ओकरौके समाज मरवामे वियाहके महत्व सम्झ्याके बैठाइलकै लेकिन जीवन नैबुझहैवला ओकरौके मरवामे खेल समैझके बैठलै । खेल समैझके वियाहके विधि पूरा करलकै ।
एकरौके डबल भेलै ताब गुलाबके दुलहा सतराम गुलाबके अपनाइले अस्वीकार करलकै । कारण सतराम दोसर लरकीके प्रेममे छेलै । दिदी गुलाबके नै स्वीकारैत देख भाइ भलिराम निर्णय लैत सतरामके कहलकै,
हमर दैयाके नै अपनाइतै अपने त हमु अपनेके बहैन रधियाके नै अपनाइबै ।
हम गुलाबके नै अपनाइले सकबै । कथिले त हम दोसर कोइके प्रेममे चियै । सतराम कहलकै ।
हमर दैयाके गोलट तोरतै तेकर वाद अपनेके हमर घर कैहियोने येलजेतै । भलिराम कहलकै अनसे बैहनो परैवला या ओनेसे जेठान परैवला सतरामके ।
येहेन समय येलाके वाद, गुलाबके बाप महताइर समाजके गुहारलकै । समाज बैठलै । समाज २ परिवारमे ४ कोइके वियाह टुटैत देखलकै । सतराम गुलाबके नै स्विकरलाके वादमे भि भलिराम सतरामके बहैन रधियाके स्वीकारैले परतै से निर्णय सुनाइलकै । रधिया भलिरामके कनिया बैनके येलै लेकिन गुलाब सतरामके घर नै गेलै ।
गुलाबके गोलट टुइट गेलै । गोलट टुटैवला बहौत डबल आरोप गुलाबके उपर लागलै । दोसर बरिस गुलाबके समध दोसर गाममे बापमहताइर कैर देलकै । लेकिन ओह्या साल गुलाबके दुलहाके साप धरलकै । दुलहा मोइर गेलै । गुलाब विधुवा भ्यागेलै ।
कनियेटामे गुलाबके गोलट वियाह भेलै । ऊ गोलट वियाह टुटलै । तेकरवाद दोसर समध भेलै । समाज वियाह २ चोटि कराइलकै । १ चोटि गोलट वियाह दोसर चोटि समध । चुलबुले बाल मस्तिस्कमे ओकरा गोलट बियाह टुटैके आरोप लागलै । जवान हैत रहै ताब विधुवाके ट्याग लटकलै । दुलहाके घर नै ज्याके ऊ दुइटा उपाधि पावलकै । तेकरवाद गुलाबके फेनसे कैहियो ने वियाह भेलै । ऊ पूरा जीवन लैहरेमे बिताइलकै ।
कथि आरोप सहैले मात्रे गुलाब जन्मलछै ? कोइ लग्या देलकै ओइ सिनुरके भरमे ओकरा दोसर कोइ देलकै विधुवाके उपाधि से ऊ उपाधि पाबैले मात्रे बनलछै ? परम्परा या संस्कृति सैब दिन बेटीसबके कपारमे ज्याके कथिले सटैछै ? बुरहिया गुलाबके मनमे आइकौल अइहनङ् प्रश्नसब उब्जैछै ।

Author:



क्याटोगरी छान्‍नुहोस