
रोशन जनकपुरी
नाममा कम्युनिष्ट पार्टीहरु छन् । तर प्रभावको दृष्टिले जेन जेड विद्रोहपछि नेपाली कम्युनिस्ट आन्दोलनको एउटा चक्र सकिएको छ । कम्युनिस्ट आन्दोलन समाजको सुनियोजित आमूल परिवर्तनकारी कार्यक्रम हो ।
जेन जेड विद्रोहपछि नेपाली कम्युनिस्ट आन्दोलन कार्यक्रमविहीन देखिन्छ। अन्य त पहिले नै कम्युनिस्ट सँस्कृति, व्यवहार र कार्यक्रमबाट शून्य भै सकेका थिए, जनयुद्धबाट नेपाली समाजको जनवादी रुपान्तरणको निम्ति नयाँ जनवादी क्रान्तिको कार्यदिशा लिएर आएका माओवादी शक्ति पनि बुर्जुवा सत्ता राजनीतिमा अल्झेर कार्यक्रम र प्रभावविहीन देखिँदै छ । नेपाली कम्युनिस्ट आन्दोलनमा शायद यो अहिलेसम्मको सबैभन्दा ठूलो चुनौती र वैचारिक संकट सृजना भएको बुझिन्छ। जेन जेड विद्रोहको उपलब्धि नवयुवा पुस्तामा उत्साह तथा नेपालको पहिलो महिला प्रधानमन्त्री भएकोलाई राम्रै भन्नु पर्छ । तर यो विद्रोह रुपमा भ्रष्टाचार र राजनीतिक बेथिति विरुद्ध देखिएपनि सारमा यो मध्यमवर्गको विद्रोह हो, जो भ्रष्टाचारी र राजनीतिक विकृतिमा चुर्लुम्म डुबेका सत्ताधारी विरुद्ध जनताको फ्रस्टेसनमा रचिएको हो । (तथ्यहरु खुल्दै छन्, खुल्दै जाने पनि छन्।) त्यसैले आगामी दिन सबैभन्दा बढी संकट कम्युनिस्ट र जनवादी शक्ति अर्थात् सर्वहारा श्रमजीवि वर्ग, मजदुर र किसानको पक्षधर राजनीतिक शक्तिहरुको निम्ति हुने देखिन्छ।
सैद्धान्तिक कार्यक्रमको स्तरमा कम्युनिस्टहरु कार्यक्रम शून्य छन् भन्नेमा दुईमत हुन सकिँदैन ( कम्तिमा मेरो निम्ति) । यस्तोमा कम्युनिस्ट शक्तिहरु, विशेष गरेर माओवादी शक्ति वर्तमान सत्ता र सरकारलाई दोस्रो प्राथमिकतामा राखेर समाजको आमूल अग्रगामी जनवादी परिवर्तनको निम्ति नयाँ धरातलमा वैचारिक संश्लेषण, लक्ष्य, कार्यदिशा र कार्यक्रम तय गर्नु जरुरी छ ।
जनवादी केन्द्रीयताको दृढ अनुशासनात्मक सिद्धान्तबाट टाढिएर क्याडर बेस पार्टीबाट डिबेटिंग क्लब र जस्तो सुकै सत्तामा रमाउने र लफ्फाजीमा मख्ख पर्ने चरित्रमा परिणत भएको कम्युनिस्ट आन्दोलनमा संगठन बारेपनि नयाँ ढंगले वैचारिक संश्लेषणको आवश्यकता छ। नेपाली कम्युनिस्ट आन्दोलन भित्र अवसरवादको लामो अभ्यासले यस्ता नेताहरु जन्माएको छ, जस्ले कम्युनिस्ट पार्टी भित्र बुर्जुवा शैलीको लोकतन्त्रलाई समयानुकूल आदर्श मान्छन्। उनीहरू यसरी लोकतन्त्र वा जनवादको अराजक परिभाषा गरेर आफुलाई नयाँ विचारकको श्रेणीमा राख्न चाहन्छन्। यद्यपि विश्व कम्युनिस्ट आन्दोलनमा यस्ता बहसहरु कयौँ पटक पराजित भै सकेको हो। उनीहरूले के बुझेका छैनन् वा बुझ्न चाहँदैनन् भने यो जनवादी केन्द्रीयतामा वैचारिक लचिलोपना नै हो, जसले पार्टीमा वैचारिक अराजक बहुलता सृजना गर्छ, अवसरवादलाई प्रश्रय दिन्छ र यसै निहुँमा पार्टी प्रमुखलाई वैचारिक नेताको साटो कुनै ग्यांगको सुप्रिमोमा परिणत गरिदिन्छ।
कम्युनिस्ट पार्टी अनेकौँ दायाँ बायाँ कार्यनीति अपनाएपनि समाजवादी लक्ष्य सम्म नपुगेसम्म युद्ध मानसिकताको संगठन हो, हुनुपर्छ । यो सत्ता वा बाहिर जहाँ भएपनि लक्ष्यतिर उन्मुख संघर्षशील संगठन नै हुन्छ। नेपाली कम्युनिस्ट आन्दोलन र यसका नेताहरु चुकेको यसै बिन्दुमा हो । मूख्य नेतृत्व सत्तामा जानु, पार्टी भित्र वर्गसंघर्ष र आधारभूत वर्गको पक्षधरताको बहस हराउनु, वर्ग संस्कृतिको ठाउँमा सत्ता सँस्कृतिको विकास हुनु, कम्युनिस्ट आन्दोलनको आधार सर्वहारा, श्रमिक, मजदुर किसान,गरिब र उत्पीडित जनसमुदायको विश्वास गुम्दै जानु र हाल ‘न इधर का, न उधर का’ को स्थितिमा पुग्नु यसैको परिणाम हो। एउटा आधारभूत तथ्य के को भने तपाईं अन्य हो भने तपाईंलाई अन्यथा गर्ने छूट छ, तर मार्क्सवादी हो भने तपाँईलाई मार्क्सवादको आधारभूत प्रस्थापना भन्दा अन्यथा जाने छूट छैन। नेपालका कम्युनिस्ट पार्टीका नेताहरुले यही गरिरहेका छन्। आफुलाई मार्क्सवादी पनि भन्न चाहन्छन् र अन्यथा पनि गर्न चाहन्छन्।
विचार गरौँ , जुटौँ र मार्क्सवादी धरातलमा नयाँ ऊँचाईमा उठ्न र सर्वहारा श्रमजीवी मजदुर, किसान तथा उत्पीडित जनसमुदायको जनवादी राज्यको नयाँ कार्यदिशा र कार्यनीति निर्माण गरौँ, र यसै आधारमा सांगठनिक संरचना निर्माण गरौँ। मेरो विचारमा अहिलेको परिस्थितिमा वैचारिक र राजनीतिक दुई कार्यदिशामा आधारित संगठनको आवश्यकता छ।
न बिर्सौँ, कम्युनिस्ट आन्दोलनमा सत्ता साध्य होइन, साधन मात्र हो । साध्य त समाजको आमूल परिवर्तनको लक्ष्य अर्थात् मजदुर किसान र उत्पीडित जनसमुदायको राज्य हो ।