रोशन जनकपुरी
जेन जी उथलपुथल बारे दुई दृष्टिकोण विकसित भएका छन्। एउटा पक्षले यसलाई क्रान्ति भन्न रुचाउँछ । यस्तो भन्नेहरू भदौ २३-२४गतेको उथलपुथलमा सामेल भएकाहरु ; परिवर्तनलाई वर्गीय शोषण तथा जनसमुदायमा विद्यमान विविधखाले उत्पीडनबाट पूर्ण मुक्ति अर्थात् समग्र रुपान्तरणको अर्थमा बुझ्ने अवधारणा विकास गर्न नसकेकाहरु ; र सामान्य उथलपुथलाई विशिष्ट मानेर अधिकाधिक अपेक्षा राख्नेहरु छन् ।
अर्को पक्षले यसलाई प्रतिक्रान्तिको अर्थमा लिन्छ। यथास्थितिवादी दृष्टिकोण राख्नेहरु; वर्तमान सम्विधान र व्यवस्थालाई नै अन्तिम मान्नेहरू र सत्ताबाट फालिनेहरु यस कोटिमा पर्दछन्। यिनीहरू जे जसरी भएपनि पुरानै फर्काउने, यसमा सफल हुन नसके जनता बिच आफूलाई फरक वा विशिष्ट देखाउन खोज्नेहरु छन्।
मेरो विचारमा यो प्रतिक्रान्ति त पक्कै होइन, किनभने यो वर्तमान व्यवस्थामा व्याप्त भ्रष्टाचार, कुशासन र राजनीतिक बेथिति विरुद्ध उठेको उथलपुथल हो। र यसले शासनको स्वरूप र चरित्रमा सूचिता बारे एक खालको बहस सृजना गरेको छ। यद्यपि जेन जीको कभरमा सक्रिय यसका पहलकर्ताहरुको प्रवृत्ति तर्फ विचार गर्दा जनवादी, सर्वहारावादी र अग्रगामी देशभक्त शक्तिहरुले उथलपुथल पछिको स्थितिलाई ठिक दिशा दिन सकेनन् भने यो मिहिन पारामा प्रतिक्रान्तिको दिशामा जानसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन।
यो क्रान्ति पनि होइन, किनभने यस्का एजेन्डाहरुमा सामान्य श्रमजीवि र आधारभूत वर्गको सरोकारका विषयहरु छैनन्। यस उथलपुथलको आयतन र घनीभूतताले सम्पूर्ण नेपाली समाज र सत्ता संरचनालाई समग्र रुपान्तरण गर्ने सामर्थ्य र उद्देश्य दुबै राख्दैन । सहभागिताको दृष्टिले पनि यस उथलपुथलमा शहरी मध्यमवर्गको एउटा पुस्ता विशेष जेन जी (नव युवा)को सहभागिता मात्र देखिन्छ।
प्रभावको दृष्टिले यो उथलपुथल मूख्यत: राजधानी र शहरी क्षेत्रमा मात्र देखियो। र मध्यमवर्गको अस्थिर चरित्र जस्तै यस उथलपुथलमा नेतृत्वविहीनता, अस्पष्टता र अस्थिरता शुरुदेखि नै देखियो। समग्रमा यो जेन जी उथलपुथल शहरी नवपुस्ताको माध्यमबाट शासक वर्गप्रति मध्यमवर्गको आक्रोश हो । तर मध्यमवर्गको निम्ति दुःखद् निष्कर्ष के छ भने यसले वर्तमान राज्यसत्तामा विद्यमान भ्रष्टाचार, कुशासन र बेथितिको कारण सृजित गरेको आर्थिक अस्थिरता र अनिश्चितताले त्रस्त मध्यमवर्गको दु:ख हरण गर्ने सामर्थ्य जेन जीको उथलपुथलले राख्ने देखिदैन। जेन जीको सीमित र अस्थिर समझदारीको फाइदा उठाउँदै एलिट वर्गको एउटा तप्का वाह्य तत्वहरूको प्रोत्साहनमा अन्तरीम नै भएपनि नेतृत्वमा छ । यो नेतृत्व भने जेन जी को अपेक्षा विपरीत शासकीय स्वरुपमा (विशेष गरी प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रमुख)मा हेरफेर गर्न चाहँदैन। कम्तिमा जेन जी सहमतिको प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले त त्यस्तै लाग्छ ।
अर्को तर्फ जेन जीहरु एजेन्डा बलियो पार्नु भन्दा जोडतोड गरेर अन्यमनस्क मुद्रामा आ आफ्ना नेतृत्वमा पार्टी खोल्न तर्फ बढी जोड गरिरहेको जस्तो देखिन्छ। प्रष्ट छ मध्यमवर्गको आक्रोशित कार्ड जेन जी पुस्ताले उद्देश्य पूर्ति गर्न गाह्रो छ । यस्को एउटा पक्ष ती वाह्य शक्तिहरु पनि हो, जस्को उद्देश्य अस्थिरतामा आफ्नो हित साधन मात्र हो ।
नेपाली राजनीतिको सम्वेदनशीलता यो नै हो, जसबारे व्यापक सचेत विमर्श र परिवर्तनकारी शक्तिहरुले एकजुट भएर परिस्थितिलाई समाजवादी लक्ष्य अनुरुप जनताको अधिनायकत्वका एजेन्डाहरु प्रष्टसँग जनतालाई योजनाबद्ध किसिमले बुझाउन सक्नुपर्छ। वर्तमान अस्थिरतालाई आमूल परिवर्तनकारी शक्तिहरूले आफ्नो पकडमा लिएर आमूल परिवर्तनको दिशामा मोड्न सकेनन् भने त्रसित र आक्रोशित मध्यमवर्गको समग्र पहलमा शक्तिशाली विद्रोहको सम्भावना उत्तिकै छ। यो मध्यमवर्गको बाध्यता पनि हुनेछ, किनभने वर्तमान राज्यसत्ता उनको दु:ख हरण गर्न सक्दैन र उनकोे आक्रोशको कार्ड सत्ताको उपरिसंरचनामा उपरी हलचल मात्र ल्याउन सकेको स्थिती छ । जेन जी नेताका बडे बडे बोल र लफ्फाजी अझै छन्, तर उनीहरू कुहिरोको काग झैँ भएका छन् : जति नेता उत्ति रहस्यपूर्ण सम्बन्धहरु ।
हुन त जेन जी यथार्थमा एउटा जनसांख्यिकी पुस्ता (नव पुस्ता) हो, तर नेपाली राजनीतिमा एउटा ब्रान्ड बनेको छ , जसलाई चुनावी राजनीतिमा भोट तान्न दलहरु उपयोग गर्न खोजी रहेका छन्। शुरुमा यो सामान्य लागेपनि, यस्तै चुनावी उपयोगमा टेकेर फासीवाद उदाएको इतिहास छ । विचार गरौँ, कुनै एउटा वर्ग होइन, एउटा पुस्ता होइन, समग्र उत्पीडित वर्ग र समुदायको हितको एजेन्डा प्राथमिक हुनुपर्छ। राजनीतिक एजेन्डा उत्पीडित वर्ग र जनसमुदायको वर्चस्वमा सबैको निम्ति हितकारी हुनु नै सही दिशा हो।
लेखक जनकपुरी प्रसिद्ध साहित्यकार एवम् राजनीतिक विष्लेशक हुन् । Source: facebook