नन्दलाल आचार्य
खचाखच भरिएको बिहानीको सार्वजनिक बसमा झ्यालछेउमा उभिँदै यात्रा गरिरहेकी अनु पछाडिबाट आएको आवाजले झस्किइन्- “दिदी, कोही तपाईंको पर्सतिर हात बढाउँदै छ है !”
उनकै पछाडि उभिएको कालो ज्याकेटधारी युवकले मुसुक्क हाँस्दै भन्यो, “यत्रो भीडमा यस्तै हुन्छ, बुझ्नु पर्छ नि ।”
अनुले काँधलाई खुम्च्याएर टार्न खोजिन् । तर त्यो अदृश्य, चिसो हात फेरि निडरतापूर्वक उनको शरीरतिर सरिरह्यो । बसभित्रका कुनै आँखाले त्यो दृश्य देखेका थिएनन्, तर अनुलाई लाग्यो- सबैले बुझेका छन् ।
उनको स्वरमा आक्रोश मिसियो, “यो हात चोरको हो कि चरित्रको ?”
युवक निर्धक्क बोल्यो, “प्रमाण कसले देख्यो र !”
त्यति नै बेला अगाडिबाट एक पाको सह-चालकको तीखो बोली गुञ्जियो, “ए बाबु ! प्रमाण मै हुँ ! म दस वर्षदेखि यही बसमा मान्छे चिनिरहेको छु ।” सह-चालकले उसको नाडी समातेर जोडले भने, “भीड
बहाना होइन, यो त अपराध लुकाउने खोल मात्र हो !”
बस रोकियो । युवक लज्जाले भुईँतिर हेर्दै ओर्लियो ।
अनुले गहिरो सास फेरिन् । भीड जस्ताको तस्तै थियो, तर उनको मनमा एउटै कुरा घुम्यो- एउटा आवाज उठ्दा सारा भीडको चेतना जागृत हुँदो रहेछ ।
२०८२ मङ्सिर १६ गते ।