चन्द्रकिशोर,
यो अवस्था अचानक आएको होइन, यो राजनीतिक अभ्यासको योजनाबद्ध परिणाम हो। दलहरूले उम्मेदवारलाई जनतासँग चिनाउने मेहनत गर्न छोडे र त्यसको सट्टा नेता–केन्द्रित ब्रान्डिङ रोजे—ठूला अनुहार, नारा, रंग र चुनाव चिन्ह। आममानिसलाई “को उम्मेदवार होरु” भन्ने प्रश्न सोध्नै नपर्ने गरी चिन्ह जप्ने मतदाता बनाइयो। जब राजनीति संवाद होइन, प्रचारमा सीमित हुन्छ, तब विचारभन्दा अनुहार भारी पर्छ र नागरिक मतदाता होइन, उपभोक्ता जस्तै व्यवहार गर्न थाल्छ। यसले लोकतन्त्रलाई गम्भीर रूपमा कमजोर बनाउँछ।
उम्मेदवारको योग्यता, विगत, स्थानीय प्रतिबद्धता र चरित्रमाथि बहस हुनै छाड्छ। मत व्यक्ति वा नीतिलाई होइन, ब्रान्डको वफादारीलाई दिइन्छ। यस्तो अवस्थामा खराब उम्मेदवार पनि “ठीक चिन्ह” पाएपछि जित्छ, र असल उम्मेदवार “गलत ब्रान्ड”मा परेपछि हार्छ। चुनाव प्रतिस्पर्धा होइन, मार्केटिङको युद्ध बन्छ, जहाँ पैसा र प्रचार नै निर्णायक हुन्छ। दीर्घकालमा यसको असर झन् खतरनाक हुन्छ। जनप्रतिनिधि जनताप्रति होइन, ब्रान्ड बनाउने नेतृत्वप्रति उत्तरदायी बन्छ।
नागरिकको चेतना क्रमशः खुम्चिन्छ, आलोचनात्मक सोच कमजोर हुन्छ, र लोकतन्त्र सहभागिताबाट खस्दै अनुकरणमा आधारित आस्थामा रूपान्तरण हुन्छ। यस्तो लोकतन्त्र टिकाउ हुँदैन—किनकि जब नागरिकले उम्मेदवार चिन्दैन, प्रतिनिधिले पनि नागरिक चिन्न आवश्यक ठान्दैन। यही बिन्दुबाट लोकतन्त्र भित्रभित्रै रित्तिन थाल्छ।
Newssourse: Socialmedia