नारी दिवस किन चाहियो ?

दिपा सिम्खडा

हो, बिल्कुल सही हो। महिला र पुरुषभन्दा पहिले हामी मानिस हौँ। साँचो कुरा त के हो भने, मान्छे हुनलाई कुनै दिवस चाहिँदैन—न पुरुष हुनलाई, न महिला हुनलाई।

तर एउटा कुरा सोध्छु है त—के हाम्रो समाजले सधैँ महिलालाई मान्छे जस्तै व्यवहार गरेको छ त? आमाले छोरीलाई खुट्टा ढोगेर कन्यादान गर्छिन्। बुहारी घरमा भित्रिसकेपछि पहिलो काम भनेको उनलाई चिने–जाने सबैको खुट्टा ढोग गराउनु हो। फरक छ नि खुट्टाको पानी खुवाएर बिदाइ गर्नु र सबैको खुट्टा ढोगाएर स्वागत गर्नुमा।

“उठ है खुरुक्क, यत्ति खाएर जा त काममा” भनेर छिटो–छिटो आमाले खाना तयार पारिदिनुहुन्छ माइतीमा। बिरामी नै भए पनि “लौ न, पाँच बजिसकेछ, झाडु लगाउन ढिलो भयो” भन्दै उठ्छिन् नारी घरमा।

पहिले त घरमा मात्र काम गर्थे नारीहरू। आजकल त प्रायः सबै नारीहरू बाहिर पनि काम गर्छन्। ढिलो भयो खाना बनाउन छ भनेर नारी फर्किन्छिन् घरमा। पहिले कामबाट घर फर्किन्थिन् छोरी, अहिले कामबाट काममै फर्किन्छिन् बुहारी। फरक छ नि कामबाट घर फर्किनु र कामबाट काममै फर्किनु।

जेठाजुलाई छुनसम्म मिल्दैन रे। आफुभन्दा साना चिने–जाने सबैलाई हजुर–तपाईं भनेर मान–सम्मान गर्नुपर्छ श्रीमानको घरमा। तर त्यही श्रीमतीको बहिनी, साली आदि ‘घरवाली’।

यदि एउटी नारीले जेठाजु वा देवरलाई जिस्क्याएर “तिमी मेरो आदि घरवाला” भनिन् भने के यो समाजले सहन सक्छ? फरक छ नि ठाडो आँखा बनाएर हेर्न पनि नमिल्ने, जेठाजुलाई छोए पनि पाप लाग्छ भन्नु र विवाह गर्नेबित्तिकै अधिकार नै जमाएर ‘आदि घरवाली’ भन्नुमा।

छोरी र ज्वाइँ बराबरी हुन्, किनकि दुबै सन्तानका जीवनसाथी हुन्। तर ज्वाइँ साहेब आउनुभयो भने कसरी सेवा हुन्छ? मानौँ कुनै देवता नै ओर्लिएर आएका। ज्वाइँ आउँदा भगवानजस्तै सेवा गर्ने घर, बुहारी आउँदा किन एउटा ‘श्रमिक’ खोज्छ? त्यैमाथि बुहारी भएपछि “यति पनि गर्न सक्दैनौ?” भन्ने बचन।

मन्दिरकी लक्ष्मी पो देवी, घरकी लक्ष्मी त कामदार हो नि है? अझै पनि कतै छोरी जन्मिँदा अनुहार खुम्चिन्छ। छोराको रहरमा कतिपय आमाहरूले कति पटक गर्भपतन गर्नुपर्छ। छोरा नभए वंश चल्दैन भन्नेहरूले यो नबिर्सुन्—वंश ती महिलाको कोखले नै बोक्छ।

अझै पनि कतै दाइजोका कुरा सुनिन्छन्। श्रीमानले गल्ती गर्दा भुल हुन्छ, त्यही गल्ती श्रीमतीबाट भयो भने त्यो अलक्षणी र चरित्रहीन। चरित्रको भारी सधैँ महिलाले नै किन बोक्नुपर्ने? छोराको सफलतामा “फलानोको छोरा” भन्दै बाबुको नाम खोज्ने समाजले, छोराको चरित्र बिग्रिँदा चाहिँ “आमाले कस्तो संस्कार सिकाइछे” भन्दै आमालाई नै दोषी देख्छ।

नारी आफैलाई भुलेर अरूको खुसीमा बाँच्न सिकेका प्राणी हुन्, र प्रायः नारी यस्तो युद्ध लड्दै हुन्छिन् जहाँ उनले शत्रु को हो भनेर पनि ठम्याउन सकेकी हुँदिनन्। तपाईंको घरमा सायद फरक नहोला, तर यसको मतलब समाजमा पनि उस्तै छ भन्ने होइन।

तपाईंको घरमा, तपाईंको अफिसमा, तपाईंको वरिपरि रहेकी हरेक महिलालाई मान्छेको दर्जा दिनुहोस्। सम्मानका लागि कुनै विशेष दिन पर्खिनु नपरोस्।

Author:



क्याटोगरी छान्‍नुहोस