बार एसोसिएसनले घोषणा गर्‍यो थप आन्दोलन, अब उच्च अदालतमा पनि विरोध प्रदर्शन गर्ने

जनकपुरधाम । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार साँझ बसेको बार एसोसियसनको कार्यसमिति बैठकले आगामी शुक्रबारसम्मका लागि आन्दोलनका कार्यक्रम थप गरेको हो ।

आगामी आन्दोलनमा सर्वोच्च अदालतअगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै बार एसोसिएसनले देशभरका १८ वटा उच्च अदालतमासमेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

मंसिर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्ने बार एसोसिएसनले निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै बार एसोसियसनका महासचिव लिलामणि पौडेलले मंसिर ३ गते संसदमा रहेका सबै दलहरूको कार्यालयमा ज्ञापन पत्र बुझाइने जानकारी दिए ।

यस्तै नेपाल बारले प्रधानन्यायाधीशबिना संवैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

प्रधानन्यायाधीश जबराले अहिलेसम्म गरेका विवादित फैसलासम्बन्धी कागजपत्र संकलन गरी अध्ययन गर्ने निर्णय पनि बारले गरेको छ ।

नेपाल बारले आन्दोलनमा कालोकोट लगाएका राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट परेको छ । यस प्रकारको भ्रामक समाचारको विश्वाश नगर्न बारको आग्रह छ । साथै सर्वोच्च अदालत र नेपाल बारको परिसरमा अर्धसैनिक बल प्रवेश गराई विरोध गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै निन्दा गर्ने निर्णय गरेको छ ।

नेपाल बारले आन्दोलन अवधिभर प्रधानन्यायाधीश उपस्थित सबै कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ । यस्तै न्यायपरिषद् र न्याय सेवा आयोगका पदाधिकारीलाई बैठकमा सहभागी नहुन नेपाल बार एसोसियसनले अनुरोध गर्ने निर्णय गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस