राजविराज, ४ पुस। सप्तरीमा जबरजस्ती करणी (बलात्कार)को मुद्दा लगाएर जेल पठाईदिने धम्की दिएर ठगी गरेको आरोपमा एक महिलासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खडक नगरपालिका–९ लालपट्टीका ३२ वर्षीय मो. रहमान मियाँ र कासिम मियाँकी पत्नी २५ वर्षीया रुबिना खातुन रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकी रुबिनाले गत मंसिर ३ गते सोही ठाउँकी समसुल मियाँको पत्नी ३१ वर्षीया गुलेसा खातुनलाई फोन सम्पर्क गरी तिम्रो लोग्नेले मलाई जबरजस्ती करणी गरेकोले मुद्दा मिलाउन ४ लाख रुपैयाँ दिनुपर्दछ भन्दै नदिए जबरजस्ती करणीको मुद्दा लगाएर जेल पठाईदिने धम्की दिएका थिए ।
सोही क्रममा रुबिनाले गत मंसिर १० गते बार्गेनिङ गरी १ लाख रुपैयाँ ठगी गरेकी थिइन् । गुलेसाले जाहेरी दिएपछि घटनाको अनुसन्धानको क्रममा दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफलेले जानकारी दिए ।