कहाँ जाँदै छ विप्रेषण ?

काठमाडौं । केही दिनअघि नेपाल राष्ट्र बैंकले आन्तरिक रकमान्तरलाई कडाइ गर्दै १ दिनमा २५ हजार रुपैयाँभन्दा बढी रकम स्थानान्तर गर्न नपाउने निर्णय गर्‍यो । यसअघि देशभित्र एक ठाउँबाट अर्को ठाउँमा १ लाख रुपैयाँसम्म रकम पठाउन पाइने व्यवस्था थियो ।

राष्ट्र बैंकका अधिकारीहरू हुन्डीमार्फत विप्रेषण आउने क्रम बढेपछि यस्तो कदम चाल्नु परेको बताउँछन् । वैदेशिक रोजगारीमा गएका नेपालीले हुन्डी गर्ने र सोही रकम गाउँघरमा रहेका आफन्तलाई पठाउने धन्दा चलेपछि यस्तो निर्णय गर्नु परेको उनीहरूको भनाइ छ ।

कोरोना महामारी चरम उत्कर्षमा पुगेका बेलाको तुलनामा अहिले विप्रेषण आप्रवाह निरन्तर घट्दा वैदेशिक रोजगारीमा गएका नेपालीले कमाएको रकम कहाँ जाँदै छ भन्ने प्रश्न उठ्न थालेपछि केन्द्रीय बैंक यस्तो निर्णय गर्ने अवस्थामा पुगेको बताइन्छ । यद्यपि यतिखेर विदेशमा रहेका नेपालीको आम्दानी नै घटेको हो वा नेपालमा विप्रेषण पठाउन कम गरेका हुन् भन्नेबारे यकिन अध्ययन भने भएको छैन ।

कतिपय विज्ञ पछिल्लो समयमा बढ्दै गएको क्रिप्टो करेन्सीमा नेपालीको चाख बढेको हो कि भन्नेसम्मको आंशका गर्छन् ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा भने विप्रेषण पठाउनेलाई सरकारी प्रक्रियाको झन्झटले समस्या पारेको तर्क गर्छन् । ‘एकातिर नेपालमा विप्रेषण पठाउँदा महँगो शुल्क लिने गरिन्छ,’ उनले भने, ‘अर्कोतर्फ एकैचोटि विदेशबाट कसैले धेरै रकम पठायो भने सरकारी केरकार पनि हुने गरेको छ ।’ डलरमा विप्रेषण पठाउने कतिपयका बैंक खाता नै बन्द गरिएको उनको भनाइ छ ।

वैदेशिक रोजगारीको क्षेत्रलाई सूक्ष्म रूपमा अध्ययन गरिरहेका श्रम, आप्रवासन विज्ञ तथा अधिवक्ता सोम लुइँटेल यतिखेर विप्रेषण घट्दै जानुमा कोरोना महामारीका बेला वैदेशिक रोजगारी एक किसिमले ठप्पजस्तै भएको असर अहिले देखिएको बताउँछन् । ‘कोरोना महामारीका बेला त्यसअघि विदेश गएका नेपालीले विप्रेषण पठाएका थिए,’ उनले भने, ‘तर, महामारीले चरम रूप लिएका बेला गरिएको बन्दाबन्दीले विदेश जानेको संख्या घट्दा अहिले विप्रेषण बढ्न सकेन ।’ आर्थिक अभियानबाट

Author:



क्याटोगरी छान्‍नुहोस