अवैध स्वास्थ्य संस्था गर्भपतनका अखडा

लहान । लहान प्रहरीले अवैध गर्भपतन मुद्दामा दुई जनालाई पक्राउ गरेर कारबाही चलाएको छ। लहान नगरपालिका–३ मा राजदेवी मेडिकल नामक अवैध क्लिनिक सञ्चालन गरी गर्भपतन गराउँदै आएका ३८ वर्षीय उमेश चौधरी र उनकी पत्नी ३० वर्षीया राजकुमारी चौधरीलाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी कारबाहीका लागि लहान प्रहरी कार्यालयमा राखिएको छ।

सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ की २५ वर्षीयको गर्भपतन गराइरहेका बेला चौधरी दम्पतीलाई प्रहरीले पक्राउ गरेको लहान प्रहरी कार्यालयका प्रमुख डिएसपी तपन दाहालले बताए। लहानकै एक भिडियो एक्सरे सेन्टरले भ्रूण छुट्याएर ती महिलालाई गर्भपतनका लागि चौधरीको क्लिनिकमा पठाएको बताइएको छ।

भ्रूण छुट्याउने भिडियो एक्सरे सेन्टरका सञ्चालक भने पक्राउ परेका छैनन्। प्रहरीले गर्भपतन गराउने महिलालाई समेत नियन्त्रणमा लिएको थियो। बयानपछि उनलाई छाडिएको छ। उनले भिडियो एक्सरे गराउने स्थानको सम्पूर्ण विवरण र प्रमाण प्रहरीलाई दिएकी छन्। नागरिक दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस