राजविराज, २२ फागुन । वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको आज साँझ निधन भएको छ। केही समयअघि विरामी परेका उनको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आईसीयू कक्षमा उपचार हुँदै आएको थियो ।
उपचारकै क्रममा उनको निधन भएको परिवारजनले जनाएको छ । ९३ वर्षीय नेता वर्माको पेटमा इन्फेक्सन देखिएपछि ह्याम्प्समा भर्ना गरिएको थियो ।
वर्मा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएकै वर्ष २००६ सालदेखि नै निरन्तर कम्युनिष्ट पार्टीमा क्रियाशील थिए। उनी २००७ सालको क्रान्तिका पनि एक जना योद्धा थिए । उनले केही कम्युनिष्ट दर्शनका पुस्तक र सयौं संख्यामा लेखहरू लेखेका छन् ।
०४६ सालपछि उनले नेकपा (वर्मा) नामको पार्टी गठन गरी त्यसको अध्यक्ष समेत रहिसकेका छन् । सप्तरीमा जन्मेका उनी केही वर्षदेखि काठमाडौंमै बस्दैआएका थिए ।