राम हत्या घटना: आरोपित आफ्नै साथी पक्राउ, दुई फरार

जनकपुरधाम, २४ चैत । धनुषाको हंसपुर नगरपालिका–७ मा एक युवकलाई गोली हानी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा हंसपुर नगरपालिका–७ नौवाखोरका २० वर्षीय मनोज महरा छन् ।

पक्राउ परेका महरा गोली हानी हत्या गरिएका १८ वर्षीय विजय रामको साथी नै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बुधवार साँझ रामको घरमा पुगेका महरासहितका अन्य तीन जना उनकै साथीले घुम्न जाने बहानामा बाहिर लगेका थिए ।

विहान राम मृत भेटिएसँगै प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले थालेको सुक्ष्म अनुसन्धानकै क्रममा महरालाई नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।

अनुसन्धानबाट महरा र सोही वडाका १९ वर्षीय पंकज मण्डल र २२ वर्षीय जितु मण्डल मिलेर रामलाई गोली हानी हत्या गरेको खुल्न आएको छ । प्रहरीका अनुसार मृतक रामसँग तीन जनाको पुरानो रिसईबी रहेकाले योजना बनाई हत्या गरेको छ ।

पक्राउ परेका महरालाई ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य भईरहेको छ भने संलग्न अन्य दुवै जनाको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस