विराटनगरबाट मानव कङ्कालसहित एक भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङको विराटनगरबाट मानव कङ्कालसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत विहारको पूर्णिया नगरपञ्चायत निवासी २६ वर्षीय आदित्य सिन्हा रहेका छन् ।

मंगलबार सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीका प्रहरी निरीक्षक प्रभातकुमार गौतम नेतृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१५ रानी नाकाको १ नम्बर ढाटबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सिन्हाले भारततिर लैजाँदै गरेको अवस्थामा मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १÷१ वटा, काँधको हड्डी २ वटा, खुट्टाको नली हड्डी ३ वटा, हातको हड्डी ६ वटा, करङ ७ वटा, ढाड, औंला र कुरकुच्चाको हड्डी ८–८ वटा बरामद गरिएको छ ।

रिक्सामा चढेर भारततिर लैजाँदै गरेको सिन्हामाथि शंका लागेर चेकजाँच गर्ने क्रममा कार्टुनभित्र प्याक गरेर लैजाँदै गरेको अवस्थामा मानिसको शरीरका विभिन्न अंगहरु बरामद गरिएको जानकारी गराइएको छ ।

पक्राउ परेका भारतीय नागरिक सिन्हा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी हुनसक्ने अनुमान गरिएको छ । सिन्हाको साथबाट सन् २०१६ सेप्टेम्बरमा वीपी प्रतिष्ठानले बनाइदिएको विद्यार्थी परिचयपत्र समेत फेला परेको छ ।

सो परिचयपत्रका बारेमा अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका सिन्हाले पनि आफू बीपीमा एमबीबीएस अध्ययनरत रहेको बताएका बताइएको छ । जानकारी अनुसार सिन्हाले आफूले अध्ययनका क्रममा प्रयोग गरेको मानव कङ्काल अध्ययन सकेर घर फर्किने क्रममा साथमै लिएर गएको बयान दिएका छन् ।

गत असोज १८ गते पनि सशस्त्र प्रहरीले विराटनगर–१५ बाटै मानव अङ्गजस्तो देखिने वस्तु बरामद गरेको थियो । भारतबाट नेपाल प्रवेश गरेको को२च ९६४८ नम्बरको मारुती भेन खानतलासी गर्दा सशस्त्रले मानव खप्परका टुक्राजस्तो २८ थान र नली खुट्टा एवं हातको हड्डीजस्तो देखिने वस्तु १० थान बरामद गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस