राजविराज । सप्तरीमा सवारी ज्यान मुद्दाका एक जना फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको शम्भुनाथ नगरपालिका–८ का २४ वर्षीय सञ्जयकुमार ठाकुर रहेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत स ३ प ३२२७ को मोटरसाइकलमा सवार ठाकुरले २०७३ असोज ८ गते सोही नगरपालिका–६ का ६१ वर्षीय विष्णुदेव पासवालाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर भएका पासवानको उपचारको क्रममा मृत्यु भएको थियो । सोही मुद्दामा २०७६ पुस १ गते सप्तरी जिल्ला अदालतले ठाकुरलाई २ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना सजाय फैसला सुनाएका थिए ।
फरार रहेका ठाकुरलाई मंगलबार प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । ठाकुरलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जनाएको छ ।