गठबन्धन बैठक : रिपोर्ट पठाउने म्याद थपेको थप्यै

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरे पनि निर्णयको कार्यान्वयनमा भने बेमेल देखिएको छ ।

केन्द्रले गर्ने तालमेलमा स्थानीय तहमा रहेका दलका संयन्त्र अनिच्छुक बन्दै गएपछि सत्ता गठबन्धन आबद्ध पाँच दलको मंगलबार बसेको बैठकले स्थानीय तहलाई संयन्त्र बनाएर तालमेल तय गर्न र सोहीअनुसार तहगत रूपमा निर्णय सिफारिस गर्न भनेका हुन् ।

मंगलबार गठबन्धन आबद्ध पाँच दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । सो बैठकले गठबन्धनबाट तालमेलको मोडालिटी तय गर्ने र टिकट बाँडफाँट गर्ने गरी प्रदेश र जिल्लामा संयन्त्र बनाउने निर्णय गरेको कांग्रेस नेतासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार महानगरपालिका, उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्नेगरी सहमति भएको छ ।

यसैगरी, नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँट गरी ३ वैशाखभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले समन्वय गरी ५ वैशाखभित्र केन्द्रलाई पठाउन भनिएको छ ।

यस्तै, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा, अध्यक्ष तथा सदस्यहरूको सिट बाँडफाँट जिल्ला संयन्त्रले गरी ३ वैशाखभित्र टुंगो लगाउन भनिएको छ ।

प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई÷दुई जना प्रतिनिधि रहनेगरी केन्द्रीय तहबाट निर्णय गरिएको छ । प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आआफ्नो आवश्यकताअनुसार प्रतिनिधि राख्न भनिएको छ भने सबै तहको बैठकको संयोजन कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने सहमति गठबन्धनको शीर्ष तहमा भएको राजधानी दैनिकमा समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस