पति र सासु–ससुराबाटै निर्घात कुटिईन् लक्ष्मीनिया

राजविराज, १३ वैशाख । सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षनात्मक आदेश दिएपछि घरमा वास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ । आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रुपनी गाउँपालिका–६ की २७ वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारको लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो ।

उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी लक्ष्मीनियाँको घाँटी, ढाड, पाखुरा, टाउको लगायतका शरीरको विभिन्न भागमा चोट लागेको छ । ‘आइतबार राति साँढे ७ बजेतिरको घटना हो, तँलाई मारिदिन्छु भन्दै ससुरा शिबदयाल भगत, पति संजिव कुमार भगत, सासू सीता देवी, जेठानी अन्जु, नन्द रन्जु, गाउँकै नातापर्ने बिणाले अन्धाधुन्ध कुटपिट गरेपछि म अचेत भए’ उनले भनिन्–‘पछि म वेहोस भएको पत्तै पाइन र सोमवार विहान मात्रै होस खुलेपछि जसोतसो गरी अस्पतालसम्म आइपुगे ।’

यसअघि कति पटक कुटपिटमा परेको यादसम्म नरहेको उनको दुखेसो छ । ‘दाइजोको निहुँमा पटक–पटक शारीरिक र मानसिक यातना खेप्दै आएको छु’ उनले भनिन्–‘सहन नसकेपछि ऊ बेला प्रहरीमा पुगेकै हो तर सुनुवाई नै भएन ।’

बाध्य भएर सप्तरी जिल्ला अदालतमा घरेलु हिसा सम्बन्धी मुद्दा गर्न पुगेको उनले बताइन । ‘सो मुद्दामा २०७८ पुस १९ गते अदालतले अन्तरिम संरक्षनात्मक आदेश भयो’ उनले भने–‘त्यसपछि त झन विपक्षीहरु उग्र बने र तेरो अदालतले कसरी बचाउन आउँछ भन्दै कोठामा थुनेर कुटपिट गर्न थाले ।’

सोमबार राति पनि त्यही घटना दोहोरिएर आफु यस्तो अवस्थामा पुगेको लक्ष्मीनियाँको कथन छ । ‘अब के गरी न्याय पाउने? र कसरी सुरक्षित वातावरण पाउने? विवाह गरेको चार भइसक्यो तर पनि उहाँहरुको रबैयाले पिरोलेको छ’, उनले भने ।

यता, प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय राजविराजकी कानुनी अधिकृत अधिवक्ता किरण साहले विभिन्न बहानामा लक्ष्मिनियाँमाथि भएको हिंसा विरुद्ध प्रहरीमा उजुरी दिँदा समेत पीडकहरुलाई कारबाही गर्नेतर्फ प्रहरीको उदासिन देखिएको बताए ।

उता, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले कुटपिटमा संलग्न लक्ष्मीनियाँका ससुरा शिव दयाललाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको बताए । ‘पुरानै घरायसी झै–झगडा हो, धेरै पटक प्रहरीमा छलफल पनि भएकै हो’ उनले भने–‘पछिल्लो घटनाको जानकारीसँगै पीडितका ससुरालाई नियन्त्रणमा राखी हामीले अनुसन्धान गरिरहेका छौं ।’

तस्बिरः सौरभ यादव/मधेशलाइभ

Author:



क्याटोगरी छान्‍नुहोस