तिलाठी कोइलाडी गाउँपालिकाको मुहार फेर्न चाहन्छिन् ईन्दुमाया

राजविराज, २२ वैशाख । जनताको सेवक भएर गाउँटोलहरुको मुहार फेर्ने सङ्कल्पका साथ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ बभनगामाकी ४२ वर्षीया ईन्दुमाया यादव यतिबेला घरदैलो अभियानमा व्यस्त छिन् ।

गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएर उनी मत माग्न जनताको घरघर पुग्ने गरेकी छिन् । एकाबिहानै घरबाट निस्किने र दिनभरी जनताको घरघर पुगेर आफ्ना प्रतिवद्धताका साथ मत माग्दै अबेर राती घर फर्किने उनको दिनचर्या नै बनिसकेको छ । शुरुमा राजनीतिमा जाने उनले मन बनाएकी थिईनन् । तर गाउँटोलको शिक्षा, स्वास्थ्य, सडक, सिंचाई, खानेपानी, महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक, सामाजिक न्याय इत्यादि क्षेत्रमा धेरै काम गर्नुपर्ने अवस्था देखेर ईन्दु राजनीतिमा आउने मन बनाईन् ।

नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष समेत रहेका एभिन्यूज टेलिभिजनका वरिष्ठ सम्वाददाता वैद्यनाथ यादवसँग सल्लाह गरेर उनी जनता समाजवादी पार्टी नेपालबाट उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी हुन् । महदेवा गाउँपालिका वडा नम्बर २ निवासी राजकुमारी देवी एवम् रामगोबिन्द मण्डलकी सुपुत्री ईन्दुले गाउँकै विद्यालयबाट प्राथमिक तहको शिक्षा, बभनगामा स्थित माध्यमिक विद्यालयबाट एसएलसी उतीर्ण गरी अहेव पढेकी छिन् । पारिवारिक जिम्मेवारीसँगै उनले स्नातकसम्म उतीर्ण गरेकी हुन् । उनले युएनडिपी, एमजीपी, महिला विकास कार्यालय, पशु सेवा कार्यालय सहित विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुको समेत अनुभव सङ्गालेकी छिन् ।

उनी सानैदेखि जेहेन्दार विद्यार्थीको रुपमा गनिन्थे । समाजमा व्याप्त दाइजो एव्म विभेदका पर्खालहरुलाई चिर्दै २०६० सालमा पत्रकार वैद्यनाथसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् । सासु सन्झा देवी यादव र ससुरा दर्शन यादवको स्नेह पाउँदै जीवनयात्रालाई सहज बनाउँदै अगाडी बढ्दै गएकी छिन् । बिराटनगर स्थित एक अस्पतालमा कार्यरत रहँदैआएकी उनी नयाँ गन्तब्य अर्थात राजनीतिमा होमिएकी छिन् ।

राजनीति पेशा नभई सेवा भएको बताउँदै उनी भन्छिन् – गाउँमा अझैं पनि बाटोघाटो छैन, एम्बुलेन्ससम्म छिर्ने अवस्था छैन, विद्यालयहरुको शैक्षिक अवस्था अत्यन्त जर्जर छ, महिलाहरु अझैं अगाडि आउन सकेको छैन, स्वास्थ्य संस्थाहरुको सेवा प्रभावहिन छ, सिंचाई, बालबालिका, युवा, ज्येष्ठ नागरिकको अवस्था पनि त्यस्तै छ, चौतर्फी समस्यै समस्याको चाङ्ग छ । जसपाबाटै पालिकाको अध्यक्षमा अत्यन्तै उर्जावान आँटिलो युवा निरज कुमार मुक्तिसँगै आफुहरु चुनावी अभियानमा रहेको बताउँदै जितेर आएदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गरेर देखाउने इन्दु प्रतिवद्धता व्यक्त गर्छिन् ।

पालिकाको बजेटले नै धेरै कामहरु गर्न सकिने अवस्था रहेको चर्चा गर्दै उनले ठूला योजनाका लागि बजेट खोजी गरी आफुहरु अगाडि बढ्ने सङ्कल्प लिएको तर अहिले बल जनताकै हातमा रहेको बताईन ।

आफुहरु मत माग्न जाँदा सर्वसाधारण जनताले विगतका जनप्रतिनिधिहरुले सेवा भन्दा आफै सुविधामुखि भएको भनी गुनासो गर्ने गरेको अनुभव सुनाउँदै उनी भन्छिन् ‘जनताले हाम्रा भन्दा पनि राम्रा र शासक होइन, सेवक भएर काम गर्ने जनप्रतिनिधि चुन्नेमा हामी आशावादी छौं, सेवा गर्ने मौका पायौं भने हामीले जनताले अनुभूति हुने गरी परिणाममुखि काम गरेर देखाउँछौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस