वीरगञ्ज महानगरपालिकाले ल्यायो ३ अर्ब ३३ करोड ६३ लाख बजेट

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

नगर सभाको ११ औं अधिवेशनमा उप प्रमुख ईम्तियाज आलमले सो बजेट प्रस्तुत गरेका हुन् । औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर भन्ने नाराकासाथ ल्याइएको बजेटमा चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार अर्थात ६२ दशमलव ०४ प्रतिशत र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार (३७।९६ प्रतिशत) छुट्याइएको छ ।

त्यस्तै, आन्तरिक आयबाट ९५ करोड रुपैयाँ, संघीय सरकारको (वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेत) १ अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेस प्रदेश सरकारबाट (वित्तिय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेत) ७ करोड ९८ लाख २४ हजार रुपैयाँ पाउने जनाएको छ ।

त्यस्तै, क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एशियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, युनिसेफबाट २५ लाख आउने अनुमान गरिएको छ । अपुग हुने ४४ करोड १९ लाख ५९ हजार चालु आर्थिक वर्षको अन्त्यमा स्थानीय सञ्चिती कोषमा रहेको नगद मौज्दातबाट व्यहोर्ने उपप्रमुख आलमले जानकारी दिए ।

त्यस्तै, शिक्षा, युवा तथा खेलकुद सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न ६६ करोड ३८ लाख ३५ हजार, स्वास्थ्य तर्फ १ करोड २० लाख ३० हजार विनियोजना गरिएको छ भने कृषि तर्फ ३ करोड २६ लाख ९० हजार, पूर्वाधार तर्फ १ अर्ब १९ करोड ९३ लाख, सामाजिक विकास तर्फ ९९ करोड ३५ लाख ७९ हजार रुपैयाँ, सूचना प्रविधि र सञ्चारतर्फ १ अर्ब ५ करोड ९५ लाख, सेवा प्रवाह संगठन सुद्दृढीकरणतर्फ ९३ करोड ५३ लाख २१ हजार विनियोेजन गरिएको छ ।

महानगरको सरसफाई व्यवस्थापनमा ८ करोड ९१ लाख, वन तथा वातावरण र विपद व्यवस्थापनका लागि ५ करोड ९९ लाख, आर्थिक विकासका लागि १० करोड ४२ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख आलमद्वारा गरिएको बजेट वक्ततव्यमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस