मोरङमा स्कुलको बसले ठक्कर दिँदा दुई बालबालिकाको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका–७ स्थित माउन्ट मकालु बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी अर्का विद्यार्थीको पनि मृत्यु भएको छ ।

सोही स्कुलमा एलकेजीमा अध्ययनरत वडा नम्वर ६ का नरेश मण्डलकी ६ वर्षीया छोरी सोनमकुमारी मण्डलको शुक्रवार विहान उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।

स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा मंगलबार को १ क ११३० नम्बरको बस अनियन्त्रित भएर किच्दा सोनमकुमारी गम्भीर घाइते भएकी थिइन । सोही दुर्घटनामा वडा नम्वर ७ का महादेव मण्डलका ४ वर्षिय छोरा हृतिक मण्डलको घटनास्थलमै मृत्यु भएको थियो ।

यसैबीच विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले बुधबार दिनभरजसो प्रदर्शन गरेका थिए । आक्रोशित स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । आक्रोशित स्थानीयले स्कुलको दुई वटा गाडीमा तोडफोड समेत गरेका थिए ।

बुधबार अबेर पीडित पक्ष र नगर प्रमुख बडा अध्यक्षसहितको बैठकमा विद्यालयले पीडित परिवारका दुई बालबालिकालाई रंगेली नगरपालिका भित्रका जुनसुकै निजी विद्यालयमा उच्च शिक्षासम्म निःशुल्क पढाइदिने भएको छ । यस्तै परिवारलाई क्षतिपूर्ति स्वरूप ८ लाख ५० हजार रुपैयाँ राहत दिने सहमति भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस