विलासी जनप्रतिनिधि : ग्यारेजमै थन्कियो एम्बुलेन्स, स्कोर्पिओमा मासिक लाखौं रुपैयाँ तिर्दै

राजविराज, २६ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै स्थानीय तहको मुहार फेरिने र जनताले संघीयताको अनुभूति गर्न पाउने अपेक्षा जोडियो । तर, नयाँ जनप्रतिनिधिले समेत जनतालाई अति आवश्यक पर्ने सुविधाभन्दा पनि आफ्नै विलासितामा रमाइरहेको पाइएको छ ।

यसको पछिल्लो उदाहरण हो, एम्बुलेन्स र स्कोर्पिओ । जनताका लागि अति आवश्यक पर्ने साधन हो एम्बुलेन्स । तर, मर्मतका लागि पठाइएको एम्बुलेन्स मर्मत भएर पनि खर्च नतिर्दा ग्यारेजमै थन्किन पुगेको छ । अर्कोतिर जनप्रतिनिधि र कर्मचारी भने गाउँपालिकाको मासिक लाखौं रुपैयाँ तिरेर स्कोर्पिओ चढिरहेका छन् ।

सो स्थानीय तहमा यसअघिका जनप्रतिनिधिको कार्यकाल विवादीत नै रह्यो । विवादकै बेला स्थानीय तहमा रहेको एक मात्र एम्बुलेन्स पनि बिग्रिएर थन्कियो । नयाँ जनप्रतिनिधि आएपछि एम्बुलेन्स मर्मतका लागि त पठाइयो तर मर्मत भएर महिनौं भइसक्दा पनि एम्बुलेन्स ल्याउनेतर्फ जनप्रतिनिधिको ध्यान नपुगेको स्थानीयहरु बताउँछन् ।

‘नयाँ पिंढीका जनप्रतिनिधिसँग जनताले अलिक बढी अपेक्षा राख्नु स्वभाविक नै हो, तर ती जनप्रतिनिधि पनि जनता प्रति कति उत्तरदायी छन् ?’ एकिकृत समाजवादी पार्टीका स्थानीय नेता जयप्रकाश यादवले भने, ‘एम्बुलेन्स मर्मत भएको धेरै समय भइसक्यो, तर पैसा नतिर्दा अहिले शोरुम (ग्यारेज)मै थन्किएको छ । आफ्ना सुविधाका लागि भने भाडामा भए पनि स्कार्पिओ चढिरहेकै हो ।’

आफु इटहरीस्थित टाटा शोरुममा मर्मतका लागि दिइएको एम्बुलेन्स हेरेर पनि आइसकेको बताउँदै उनले अहिलेका जनप्रतिनिधि पनि जनताको सुविधाभन्दा पनि आफ्नो सुविधातर्फ उन्नमुख भएको आरोप लगाए ।

स्कोर्पिओको मासिक २ लाख ४० हजार भाडा तिर्दै

गाउँपालिकाले दुई वटा स्कोपिओ भाडामा लिएर चलाइरहेको छ । गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले एउटा स्कोर्पिओ चढिरहेका छन् भने अर्को प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवले चढिरहेका छन् । गत भदौदेखि दुवै स्कोर्पिओ ४–४ हजारको दर (तेल बाहेक)ले भाडा लिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवले पनि दुई वटा स्कोर्पिओ भाडा लिइएको बताए । यद्यपी, एउटा आफ्नो लागि भन्दा पनि कार्यालय प्रयोजनको लागि लिइएको उनले बताए । ‘म अहिले काठमाडौंमा छु, हामीले दुई वटा स्कार्पिओ भाडामा लिएका छौं, एउटा अध्यक्ष ज्यूलाई चढ्न र अर्को कार्यालयको प्रयोजनका लागि’ उनले भने, ‘एम्बुलेन्सको कुरा जहाँसम्म छ त्यो सम्भवतः ग्यारेजबाट ल्याइएको हुनुपर्छ ।’ यद्यपी साँझसम्म एम्बुलेन्स गाउँपालिका वा चालकको घरसम्म नल्याइएको श्रोतको दावी छ ।

उता, गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले आफु नै जनप्रतिनिधि भएर आइसकेपछि एम्बुलेन्स मर्मतका लागि पठाएको र आज नै ती एम्बुलेन्स मर्मत गरेर ल्याइसकिएको बताए । ‘विलासीभन्दा पनि मैले अध्यक्षको सेविसुविधा अन्तर्गत स्कोर्पिओ भाडामा लिएको हुँ’ उनले भने, ‘म साधारण व्यक्ति नै थिए र साधारण व्यक्ति नै रहनेछु ।’

Author:



क्याटोगरी छान्‍नुहोस