विद्यालयमा निधन भएका बालकको १५ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जलीसभा

२०७७ भदौ २६
राजविराज । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ४ छपकी भथौलस्थित प्राथमिक विद्यालयमा निधन भएका बालक भुपेन्द्र प्रमानीको १५ औ दिनको पुण्यतिथिमा आज श्रद्धाञ्जली सभाको आयोजना गरियो ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथी रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले सामान्य त्रुटीका कारण १४ वर्षीय होनहार बालक गुमाउनु परेको भन्दै अब उप्रान्त यस्ता कमीकमजोरी हुन नदिन सचेत रहनुपर्नेमा जोड दिए ।

विद्यालय लगायत सार्वजनिक स्थलहरुको कामको गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्दै उनले आमजनता समेतको निगरानी आवश्यक रहेको बताए । दिवंगत बालकको नामबाट विद्यालयमा सरस्वती मन्दिर निर्माण गर्नुका साथै परिवारका १ जनालाई योग्यता अनुसार रोजगारीको प्रबन्ध मिलाउने प्रतिवद्धता व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभामा गाउँपालिकाकी उपाध्यक्ष बेचनी सरदार, जनता समाजवादी पार्टीका केन्द्रिय नेता दिनेश कुमार यादव, प्रेस नेपाल प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, माध्यमिक विद्यालय नकटी रायपुर व्यवस्थापन समितिका अध्यक्ष दुर्गानन्द ठाकुर, वडा नम्बर ४ का अध्यक्ष छेदी इसर, जनता समाजवादी पार्टीका प्रतिनिधि तेजनारायन यादव लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरे ।

कार्यक्रम संचालन माध्यामिक विद्यालयका प्रधानाध्यापक शैलेन्द्र कुमार मण्डलले गरे । विद्यालयमा नेकपाले आयोजना गरेको कार्यक्रम सम्पन्न भएपछि मुल ढोका बन्द गर्ने क्रममा बालक भुपेन्द्रको किचिएर मृत्यु भएको थियो । मृतक बालकका बुवा चन्द्रशेखर प्रमानी सोही विद्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस