उपचार अभावले अपाङ्गताको जीवन विताउँदै एउटै टोलका चार दलित

राजविराज, २२ पौष । केही समयअघि पक्षघात (प्यारालाइसिस)ले थला पारेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाँटी मुसहर टोलका ६१ वर्षीय मिहिलाल सदा विचल्लीमा परेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेका उनको बाँया भाग पुरै नचल्ने भएपछि ७ महिनादेखि ओछ्यानमै थला परेका हुन् ।

‘गत असारतिरै अचानक शरीरको बाँया भाग चल्नै छोड्यो, आफु र छोराले मजदुरी गरेर जसोतसो परिवार धान्दै आएका थिए’ उनले भने, ‘उपचारको लागि पैसा नभएपनि बाँच्ने रहर चैं छ, त्यो बेला भएभरको सम्पति एक थान गाई र एक थान बाख्रा बेचे अनि थोरै ऋण पनि काँडेर उपचारमा लागे तर त्यो एक लाख जति रुपैयाँले पुगेन ।’

उपचार गराउन नसकेपछि पछिल्लो ७ महिनादेखि अरुकै सहाराले शौचालयसम्म पुग्नुपर्ने बाध्यता झेल्दै आएको उनको दुखेसो छ । ‘गरिबीले बुढेसकालमा सतायो, पैसा भएको भए यसरी मर्नु सरह बाँच्नु पर्दैन्थ्यो’ उनले भने, ‘गरिब र त्यसमाथि दलित कसैबाट पनि कुनै सहयोग छैन् ।’

अहिले मिहिलाललाई उनकी पत्नी ६० वर्षीया भुल्कन सदाले हेरचार गर्दै आएकी छन् । ‘उ बेलादेखि नै उहाँलाई बच्चा जस्तै २४ सौं घण्टा हेरचार गर्दै आइरहेकी छु’ उनले भनिन्, ‘ओछ्यानबाट उठ्न नसकेकाले खाना खुवाउनेदेखि शौच गर्नसम्म पनि सहारा नै दिनुपर्छ ।’

आर्थिक अवस्था निकै कमजोर भएकाले पतिको उपचार गर्न नसकिएको उनी बताउँछिन् । ‘उपचार गर्ने आर्थिक सामथ्र्य छैन् र घर पनि ऐलानीमै छ, डेढ महिनाअघि मात्रै छोरा मजदुरी गर्न पञ्जाब गएको छ’ उनले भनिन्, ‘जसोतसो छोराले हाम्रो गुजारा चलाउँदै आएका छन्, कहिलेकाहीँ भोकभोकै बसेर पनि जीवन त चलेकै हो तर उपचार गर्ने सामथ्र्य छैन् ।’

भैंसीबाट लडेपछि लौरो बन्यो सहारा

गरिबीले पिरोलेको अर्का पात्र हुन् सोही टोलका ७० वर्षीय खुशीलाल सदा । स्थानीय प्रभाकर यादव (मनोज) मा नोकरी (दैनिक ज्यारा मजदुरी)मा काम गरिरहदाको बेला गत असोज १ गते भैंसी चराउँदै गर्दा लडेर खुशीलालको ढाँडको हड्डी भाँचियो ।

‘मालिक (प्रभाकर)ले त्यो बेला १० हजार रुपैयाँको उपचार गराइदिनुभएको थियो तर निको हुन सकेन’ उनले भने, ‘त्यसपछि उपचार गराउने इच्छा रहदारहदै पनि पैसा नुहँदा त्यो सम्भव भएन, अझैं दुखाइ रहदा पनि जसोतसो लाठी (लौरो)को सहारामा समान्य हिडडुल गर्दै आएको छु ।’

ऐलानी जग्गामै झुपडीमा बसोवास गर्दै आएका दुई छोरा पिता खुशीलालका परिवार पनि मजदुरी गर्दै गुजारा चलाउँदै आएका छन् । ‘छोराको मजदुरी वापत आउने पैसा नै पारिवारीक मुख्य आयश्रोत हो, त्यसैले छाक टार्दै आइरहेका छौं’ उनले भने, ‘कुनै कुनै दिन त मजदुरी पाइएन भने छाक टार्न मुस्किलै पर्छ ।’

दुखाइमा मलहम लगाइदिने कोही छैन् दलित गरिबका लागि

सोही टोलकी ६४ वर्षीया सोमनी देवी सदाको पीडा पनि फरक छैन् । गत पुसमा गाउँपालिका कार्यालयबाट घर फर्किदै गरेकी सोमनी गाडीबाट लड्दा खुट्टामा चोट लागेर घाईते भए । ‘त्यतिबेला दुखाइ कमै थियो, पछि दुखाइ बढ्दै गयो’ उनले भनिन्, ‘गाउँकै डाक्टरबाट केही उपचार पनि गराएकै हो, ट्याब्लेट र मलहम दिनुभएको थियो ।’

निको नभएपछि एक्स–रे गराए र खुट्टाको हड्डी फ्याक्चर भएको भनेर डाक्टरले बताएपनि पैसा अभावले प्लाष्टर गराउन नसकिएको उनको दुखेसो छ । ‘प्लाष्टर गराउनुपर्छ भनेर डाक्टर सा’बले भन्नुभएको थियो तर खानै धौ–धौ छ कहाँबाट उपचार गराउनू अनि डाक्टरकोमा फेरी गइन’ उनले भनिन्, ‘छोरो पञ्जाबमा मजदुरी गरेर आएको थोरै पैसाले नाती–नातिनीको पेट भर्दै आएको छु, उपचारको लागि पैसै पुगेन ।’

अहिले हिडडुल गर्न कष्टकर भइरहेको उनको भोगाइ छ । ‘गरिबको लागि को छ र?, भोट लिने बेला मात्रै हाम्रो खोजी हुन्छ अनि जितेर गएपछि कहिले फर्केर आउनुहुनँ यहाँका जनप्रतिनिधिहरु’ उनले भनिन्, ‘के गरौ, कसलाई भनौं, दुखाइमा मलहम लगाइदिने कोही छैन् दलित गरिबका लागि ।’

दुखाईले रातरातभरि निन्द्रा लाग्दैन

आफ्नै आँगनमा लडेर ढाँडमा समस्या देखिएपछि ७० वर्षीया सबुत्रीदेवी सदा पनि उपचार नपाएर अपाङ्गताको जीवन बाँच्न बाध्य छन् । ‘५ वर्षअघि लडेर ढाँडमा समस्या भयो, पहिलो वर्ष त गाउँमै सुइ लगाउँदै दुखाइ थामथुम गरिरहे, दुखाइ सहन नसकेपछि गाई बेचेर उपचारको लागि विराटनगर पुगे तर अप्रेशन गर्नुपर्छ भनेर डाक्टर सा’बले भन्नुभयो’ उनले भनिन्, ‘गुजारा चलाउँनै हाम्यहाम्य भइरहेको छ, २–३ लाख रुपैयाँ तिरेर अप्रेशन गराउनै सकिएन ।’

लौरो टेकेर हिडडुल गरिरहदा पनि दुखाइ भने अझैं रहेको उनी बताउँछिन् । ‘गरिबी जीवन नै दुखाई हो बाबु, बालबच्चालाई कसरी गुजारा चलाउने सोच्दा सोच्दै जीवन वित्नै लागेको छ’ उनले भनिन्, ‘कहिलेकाहीँ दुखाईले रातरातभरि निन्द्रा लाग्दैन तर उपचार गराउने विकल्प नै छैन्, अब त दुखाईको बानी परिसकेको छ ।’ उनको पनि छोरा पञ्जाबमै मजदुरी गरेर परिवार धान्दै आएका छन् ।

मनपरी औषधि खरिद गरी जनस्वास्थ्यसँग खेलबाड

गाउँपालिकाले मनपरी ढंगले औषधि खरिद गरी जनस्वास्थ्यसँग खेलबाड गर्ने गरेको पाइएको छ । गाउँपालिकाले मंसिरको पहिलो सातामा १९ लाख २० हजार रुपैयाँ बराबरको औषधि खरिद गरेको छ । तर, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम १ (क)को समेत ख्याल गरेको छैन् ।

सो नियमावलीअनुसार २० लाख रुपैयाँसम्मको औषधिजन्य मालसमान उत्पादकले राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गरी तोकेको विक्री मूल्यमा खरिद गर्नुपर्ने व्यवस्था छ भने खरिद भएका औषधिहरु कुन कम्पनीबाट उत्पादित हो भन्ने पनि पत्र–पत्रिकामा प्रकाशन गर्नुपर्ने हुन्छ ।

औषधि आपूर्ति गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट सर्टिफाइड हुनुपर्ने, औषधिको उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञबाट मुचुल्का उठाएपछि सो औषधिहरु बिक्रीको लागि नरहेको खुल्ने गरी वितरण गर्न दिनुपर्नेमा हो । तर, जनप्रतिनिधि र केही कर्मचारी मिलेर कमिशनको लोभमा पर्दा मनपरी ढंगले औषधि खरिद गरेकाले जनस्वास्थ्यमाथि खेलबाड भएको कर्मचारी श्रोतले बताए ।

‘औषधि जस्तो संवेदनशिल वस्तु खरिद गर्दा पनि प्रक्रिया पूरा नगर्नुले के जनाउँछ?, सबै कमिशनको खेल हो’ कर्मचारी श्रोतले भन्यो, ‘हुन त ३६ प्रकारका औषधि खरिद गरिएको भन्छन् तर ती दबाई कुन कम्पनीबाट खरिद गरियो र कुन–कुन कम्पनीको दबाई हो ? ती दबाईहरु तोकिएकै गुणस्तरअनुसारको हो भन्ने यकिन गर्नसक्ने आधार के हो ?’

खरिद प्रक्रियादेखि औषधिको गुणस्तरबारे सम्बन्धित पक्षले छानबीन गर्नुपर्ने श्रोतको माग छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनेश्वर प्रसाद चौधरीले औषधि खरिद प्रक्रियाबारे आफुलाई कुनै जानकारी नरहेको बताए । उनले औषधि खरिद गरिएको मिति पनि खुलाउन चाहेन । ‘औषधि त मंसिरमै खरिद भएको छ तर त्यसको ठ्याकै मिति मलाई जानकारी छैन्, अरु उत्तै सोध्नुस् न’, उनले भने ।

उता, गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले प्रक्रियाअनुसार नै औषधि खरिद गरिएको दावी गरे । यद्यपी, उनले कुन मितिमा राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गरिएको बारे स्पष्ट गर्न सकेन । ‘हाकिम सा’बलाई नै जानकारी होला’ उनले भने, ‘उहाँलाई नै एक पटक फोन गर्नु न ।’ सोबारे बुझ्न प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवलाई फोन गर्दा उठेन ।

Author:



क्याटोगरी छान्‍नुहोस