प्रिया सिंह थारु
‘जिम्मेवारी’ शब्द आफैमा ठुलो महत्त्व राख्दछ । यसको बारेमा भनी राख्नुपर्दैन । तर, जिम्मेवारीको नेपालमा कुनै पनि स्थानमा, कुनै पनि निकाय वा राज्यको लागि जवाफदेहिता बोकेका व्यक्तित्वहरुले कहि पनि पालना गर्न नसकेको अबस्था छ । बरु उल्टै गैरजिम्मेवार नीति अंगिकार गरेको देखिन्छ । चाहे त्यो बोलीमा होस्, व्यवहारमा होस् वा कुनै कार्यमा नै किन नहोस् ।
भन्ने बेलामा छोरालाई काखा, छोरीलाई पाखा गर्नु हुदैन भनिन्छ । तर व्यवहारमा लागू गरिँदैन । भन्ने बेलामा मधेशी, आदिवासी–जनजाति, थारु, मुस्लिम, पहाडी र हिमाली हामी सबै नेपाली भनिन्छ । तर, कसैलाई फुलको माला र कसैलाई बन्दुक अनि तोपको गोला दिइन्छ । कसैलाई प्यार, कसैलाई तिरस्कार गरिन्छ यहाँ ।
पहुँच, पावर, पैसा र पद भएकालाई कानुन लाग्दैन यहाँ । जे जसो गरेनि हुने रैंछ । पद, पावर, पैसा, पहुँच भएकाले नक्कली नागरिकता, हत्या, बलात्कार जस्ता घटनामा मुछिँदा पनि ठुलालाई चैन सानालाई ऐन भनाइ जस्तो हुदोरहेछ यहाँ । खोइ त चेत? अहिले पनि न्यायका लागि गुहार गर्दै रोई रहेका पिडित, टाउकोमा हानेको गोलीले निस्केको गिदी, रगतमा लतपतिएका लाश आँखा सामु घुमिरहेको छ ।
सधै सुन्छौ, सबैबाट सुन्छौ सबै समस्या समाधान हुन्छ तर केही भएन, हुँदै भएन !! सिस्टम नै भएन, हाम्रो देशै खतम भयो कि चौतर्फी प्रश्न तेर्सिएको छ । तर, एक पल्ट पछाडी फर्केर हेरौं त, यो देशलाई बदल्न तपाई हामीले चाहि के गर्यौ? हाम्रै पुस्ताले दुई दुई वटा जनआन्दोलन देखेकै हो । लाखौं जुटेर परिवर्तनका नारा लगएकै हो । त्यसले देशको मुहार फेर्यो फेरेन त्यो छुट्टै कुरा हो । अहिले यति मात्र सोचौं, के हामीले आफैंले आफैंलाई बद्लन सक्यौ ?
शिक्षाको नामामा बजेट आएकै हो तर पनि खोइ त गुणस्तरीय शिक्षा । कृषिको लागि बजेट आएकै हो तर पनि खोइ त कृषकको सुबिधा । स्वास्थ्य क्षेत्रका लागि बजेट आएकै हो तर पनि स्वास्थ्य क्षेत्रमा खोइ त सुबिधा । देश बिकासका नाममा बजेट आएकै छ तर समुचित बिकास पनि हुन सकेन । बिकास हुँदै नभएकोे पनि होइन, तरपनि पछाडि नै छ । किन ? कर्मचारी तन्त्र हावी भएको हो कि? कर्मचारीहरु भ्रष्टाचारी भएर हो कि? राजनितिज्ञहरु, आमजनता वा समाज नै भ्रष्ट भएर हो कि? जे सुकै होस् नीति त गैरजिम्मेवार नै हो ।
नेपाली काँग्रेस नेपालीको सबैभन्दा ठूलो समाजवादी लोकतान्त्रिक राजनीतिक दल हो । यो दलको २००६ साल चैत २७ मा नेपाल राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसको एकीकरणबाट भएको थियो । राणा शासनदेखि राजतन्त्र अन्त्यसम्म लडेको नेपाली काँग्रेस नेपालीको राजनीतिक र सामाजिक परिवर्तनको पर्यायको रुपमा स्थापित भएपनि पछिल्लो समयमा यस दलको नेतृत्व स्खलित हुदै गएको छ । पछिल्लोसभापति शेरबहादुर देउवाको कार्यकालमा काँग्रेसको गतिविधि आफ्नै ईतिहास मेटिन्न तल्लिन रहेको देखिन ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवाद) एमाले नेपालको एउटा कम्युनिस्ट पार्टी हो । यो पार्टीको स्थापना २००६ साल बैशाख १० मा बिभाजन एकता तथा कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा एमाले लगायत अन्य बिभिन्न स–सानादलहरुका रुपमा अस्तित्व छ । सामन्तवाद, दलाल नोकरशाही पुँजीवादी तथा साम्राज्यवादका शोषण उत्पिडनबाट नेपाली जनता तथा नेपाली राष्ट्रलाई मुक्त गर्न तथा जनताको बहुदलीय जनवाद समाजवाद स्थापनाद्वारा न्यायपुर्ण, समानतायुक्त, समृद्ध नेपाल स्थापना गर्ने यसको उदेश्य रहेको छ । यो दलको वर्तमान अध्यक्ष केपी शर्मा ओली हुन् । ओलीको पनि पछिल्लो कार्यनीति तथा गतिविधि नेपाली जनतालाई उदेकलाग्दो भएको छ । सिद्धान्तमा कम्युनिस्ट भएपनि नित तथा गतिविधि पश्चिमा भाषमै भासिएको छ । यस्ता कम्युनिस्ट पार्टीबाट पनि देश उकास्न जिम्मेवार छ भने कुरामा नेपाली जनता बिश्वस्थ देखिदैन ।
माओवादी जनयुद्ध नेपालको सशस्त्र युद्ध हो, जुन तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टीले १० बर्ष संचालन गरे । नेपाली जनतालाई सुशासन, समृद्धि, रोजगार, विकास दिने भनेर नेपाली जनतामो साथ पाएका माओवादीले पनि केहि गर्न सकेन । झण्डै १७ हजारको ज्यान जाने गरि भएको जनयुद्ध व्यापक धनजनको नास भएको थियो । २०६३ सालसम्म चलेको थियो । माओवादीले २०५२ फागुन १ मा नेपाली राजतन्त्रलाई समाप्त र गणतन्त्र स्थापना गर्ने उदेश्यका साथ यसको सुरुवात गरेको थियो । माओवादी सशस्त्र संघर्षमा भएको देशले थाम्ने अवस्था नरहेको अवस्थामा झण्डै १० बर्ष पछि २०६३ मंसिर ५ मा तत्कालीन प्रधानमन्त्री गरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड ) ले बिस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेबाट यो युद्व समाप्त भएको थियोे ।
जनता समाजवादी पार्टी (जसपा) भर्खरै गठन राजनीतिक पार्टी हो । मधेश आधारित दुई प्रमुख दलको एकीकरण भएर यो पार्टी बनेको थियोे । बाबुराम भट्टराई र उपेन्द्र यादवको समाजवादी पार्टीसँग महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा, महेन्द्र राय यादव र राजकिशोर यादव लगायतका नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल बिच एकिकरण भई जनता समाजवादी पार्टी बनेको हो ।
हाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव हुन् । यादव पहिले मधेस केन्द्रित दल मधेसी जनअधिकार फोरमका संयोजक थिए । यसको उदेश्य सबै उत्पिडनमन परेका सबै जातजातिलाई पहिचानको आधारमा अधिकार सम्पन्न गराउने लक्ष्य थियो । यादवको नेतृत्वमा भएको मधेस जनबिद्रोहले समाजिक चेतना बढाउन निकै मद्दत गर्याे । सयौं बर्षदेखि विभेदमा परेका मधेशी, आदिवासी–जनजाति, अल्पसंख्यक, मुस्लिम, राज्यबाट पछाडि पारिएका वर्ग, महिलाको केहि हदसम्म अधिकार स्थापित गराउन यादव नेतृत्वको मधेस जनविद्रोहको भुमिका रहयो । यादव नेतृत्वको आन्दोलनले मुलुकमा संघियता, समावेशी, समनुपातिक समावेशीको सिद्धान्तमा आरक्षण स्थापित गरायो जो अपहेलित, उपेक्षित, सयौं बर्षदेखि एकतन्त्रिय राज्य सत्ताद्वारा उत्पिडनमा पारिएका समुदयको बिकासमा कोसे ढुंगा साबित भएको छ ।
बहुलराष्ट्रिय राज्य एक राजनीतिक वा भू–राजनीतिक सता हो, जसले बिबिध राष्ट्रहरु आफैभित्र एकत्र गरेको हुन्छ तर एकलराष्ट्रिय राज्य संरचना विपरित वहुलराष्ट्रिय राज्य, बहुल राजनीतिक समुदायहरु तथा संबैधानिक बिषमतासहित राजनीतिक तथा प्रशासनिक बिकेन्द्रिकरणद्वारा गठन हुन्छ । नयाँ प्रशासनिक प्रणालीले साँस्कृतिक बिषम रुपलाई स्थापित गर्दछ र सम्पुर्ण सामाजिक क्षेत्रहरु तथा समुहहरुको राजनीतिक सहभागीता सुनिश्चित गराउँछ । देशमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण र राज्य संचालन भइरहेकाले बहुलराज्य स्थापना गराउने अभियानमा पछिल्लो समयमा जुटेका छन राजेन्द्र महतो ।
देश बिकास गर्नु भन्दापनि दलहरु सरकार बनाउन र गिराउनतिर लागि पर्दछन । एकले अर्कालाई आलोचना गर्नुमै होमिएका हुन्छन दलहरु । सरकार बनाइ बिभिन योजना ल्याउने भत्काउने यस्तैमा बन्छ समृद्ध नेपाल? नेपाली राजनितिज्ञहरुको आखिर गैरजिम्मेवारी नै हो ।
कुन पार्टी, कुन दलले के गर्यो गरेन मुख हेरेर बस्नु भन्दा अब के गर्ने ? कहिलेसम्म नेता, पार्टी र सरकारलाई मात्र गाली गरेर बस्ने? कहिलेसम्म हेरिरहने, देखाइरहने सिस्टमको दोष? देश बर्बाद भो भनेर कुण्ठा मात्र किन पोख्ने? अरुको मुख कतिन्जेल ताक्ने? कहिलसम्म ताक्ने? कम्तिमा अब त सोचौं, यो देश बनाउन तपाई, मैले र सबैले के गरिरहेछु, के गर्न सक्छु ।
आम जनमानसमा हामी के नै गर्न सक्छौ र? भन्ने भावना हाम्रो मानसिकतामा बसेको छ । हामी गर्न सक्छौ, हामी सक्षम छौ भन्ने हामी कसैको मानसिकतामा छैन् । राज्य मात्र गैरजिम्मेवार छैन । म, तपाई, हामी सबै गैरजिम्मेवार छौं । आफ्नो जिम्मेवारी वहन गर्न सके जातजाति, धर्म र भौगोलिक बिबिधताको दृष्टिकोण परिवर्तन गरि काधमा काध मिलाएर देश बिकासमा लागे हामी पनि कम छैनौं । केही गरेर देखाउन सक्छौं । त्यसैले आफ्नै ठाउँ, क्षेत्रबाट जिम्मेवार बनौं । सुन्दर, समुन्नत, शान्त र समृद्ध समाज र राष्ट्र निर्माणमा लागौं । हामी सबै जिम्मेवार बनौं ।