राजविराज–सप्तरीको राजगढ गाउँपालिकामा माटो ग्राभेल कार्यमा कामभन्दा साढे ५ लाख रुपैयाँ बढी निकासा दिएको पाइएको छ ।
गाउँपालिकामा आर्थिक वर्ष ०७९/०८० मा मोस्तकिम घरदेखि कारी साहको पोखरीसम्म भएको माटो ग्राभेल कार्यमा कामभन्दा ५ लाख ५७ हजार १ सय २० रुपैयाँ बढी निकासा दिएको पाइएको हो ।
उक्त कार्यमा उपभोक्ता समितिले पेश गरेको बिल, भरपाई, प्राविधिक प्रतिवेदन, निवेदन र टिप्पणी आदेशअनुसार १९ लाख ३५ हजार ५ सय ९१ रुपैयाँ खर्च लेखेको थियो । तर, कार्यसम्पन्न प्रतिवेदन तथा नापी किताव अनुसार आइटम नम्वर २ को ग्राभेल कार्य ५ सय ७५ दशमलव १७ घनमिटरको प्रति घनमिटर २ हजार ७ सय २८ रुपैयाँ ७३ पैसाका दरले १५ लाख ६९ हजार ४ सय ८३ रुपैयाँ मुल्याकंन भएकोमा उपभोक्ता समितिले पेश गरेको खरिद बिल अनुसार ३ सय ७१ घनमिटर मात्र रहेको महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा २ सय ४ दशमलव १७ घनमिटरको बढी मुल्याकंन गरेर निकासा दिएकोले बढी निकासा दिइएको ५ लाख ५७ हजार १२० रुपैयाँ असुल गर्नुपर्ने औंल्याएको छ ।