तस्करी गर्न रातारात बनाइयो ‘नो म्यान्सल्याण्ड’सम्मै सडक

राजविराज, १२ पुस-सप्तरीको बलान बिहुल गाउँपालिका–३ टिकुलियाँस्थित अवैध निकासी–पैठारी (तस्करी) गर्न ‘नो म्यान्सल्याण्ड’सम्मै रातारात सडक बनाएको खुलासा भएको छ ।

यसअघि स्थानीय व्यापारीले तस्करी गर्न बेल्ही नाकाको सडक नै प्रयोग गर्दै आएका थिए । तर, पछिल्लो साता नेपाल र भारतका ठुल–ठुला व्यापारीहरुको ‘इन्ट्री’ भएपछि नाका बदनाम हुने डरले आतिएका स्थानीय व्यापारीहरुले नाकाको सडकमा अवरोध गर्न थालेपछि ठुला व्यापारीहरुले रातारात ‘नो म्यान्सल्याण्ड’सम्मै सडक बनाएर तस्करी सुरु गरेका हुन् ।

‘ठुला व्यापारीले एक रातमै १२ देखि १५ वटा ट्रक वा पिकअपमा निकासी–पैठासी गर्छन्, जसले गर्दा नाका नै बदनाम भएर स्थानीय व्यापारीहरुलाई मार खेप्नुपर्छ’ नाम नछाप्ने सर्तमा एक व्यापारीले भने, ‘त्यस कारणले ठुला व्यापारीहरुको बाटो बन्द गर्न स्थानीय व्यापारीहरुले बेल्ही नाकाको सडकमा अवरोध गर्न थाले तर नजिकै वैकल्पिक बाटो नै खुलाउँछ भन्ने कसैले सोचेकै थिएन ।’

अहिले ठुला व्यापारीहरुले तस्करी गर्न बेल्ही नाकादेखि करिब दुई किलोमिटर पूर्वतर्फ टिकुलियाँस्थित ‘नो म्यान्सल्याण्ड’सम्मै वैकल्पिक बाटो खुलाएका हुन् । ‘रौतहट चौकदेखि पश्चिम हुँदै मौवाहा नहर चौक र टिकुलियाँ गाउँको पारीसम्म करिब ५ किलोमिटरको सडक मर्मत गराएका छन् भने त्यसपछि डेढ किलोमिटर जेसीबी लगाएर नो म्यान्सल्याण्डसम्मै सडक बनाएका छन्’ उनले भने, ‘२४० नम्बरको सिमा स्तम्भ हुँदै पारी (भारतको चैनपुर गाउँ) पसेपछि उता पनि नो म्यान्सल्याण्डसम्मै जोडिएको सडक छ तर प्रहरी भने दुवैतर्फ छैन् ।’

ती सडक भएर गत बुधवारदेखि नै प्रत्येक राति एक दर्जनभन्दा बढी पिकअप र ट्याक्टरबाट तेस्रो मुलुकको स्याउ, लसुन, लाइटर र कस्मेटिक समानहरु तस्करी हुँदै आएको छ । ‘लाइन (सेटिङ) मिलाउन प्रहरीलाई मोटो रकम बुझाएर ठुला व्यापारीहरु जेनेरल लाइन लिएका छन्, जसअनुसार स्याउ, लसुन, लाइटर, कस्मेटिकका समान र बाख्रा निर्वाद रुपमा भारततर्फ पठाउने गरेका छन्’ उनले भने, ‘तर, ट्रक झिर्ने बाटो नहुँदा पारी (भारत)बाट चिनी, कपडा, धान र चालम ल्याउनै सकेका छैनन् ।’

उता, गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवलाई पनि ती सडक बनेको विषयमा स्पष्ट जानकारी छैन् । ‘जनताले सडक मर्मत गर्दैछन् भन्ने सुनेको थिए तर कुनै औपचारिक जानकारी छैन्’, अध्यक्ष यादव बताउँछन् ।

बिओपीदेखि गण र प्रहरी चौकीदेखि जिप्रकासम्मै ‘सेटिङ’

छोटी भन्सार कार्यालय बेल्ही समेत रहेको बेल्ही नाकादेखि करिब २ किलोमिटर पूर्वतर्फ नयाँ बाटो खुलाइएको छ भने उक्त बाटो र बोर्डर आउटपोष्ट (बिओपी) बेल्हीको दुरी एक किलोमिटरभन्दा पनि कमै छ । तर, नयाँ बाटोबाट लाइन खुलाएसँगै सई युवराज तिमिल्सिनालाई निमित्त इन्चार्जको जिम्मेवारी दिएर बिओपी बेल्हीका इन्स्पेक्टर सनतकुमार राई भने विदा स्वीकृत नै नगराई घरतिर लागेको बुझिएको छ ।

‘उहाँ मासिक रकम बुझेलगत्तै काठमाडौंतिर लाग्नुभयो, लाइनका लागि सशस्त्र प्रहरीलाई बुझाइएको ७ लाखमध्ये उहाँको भागमा पर्ने १ लाख ५० हजार रुपैयाँ हो र बिओपी रामनगरका लागि १ लाख तथा तल्लो दर्जाका प्रहरीका लागि थप ५० हजार, प्रस्तावित गुल्म पातोलाई ५० हजार र सशस्त्र प्रहरी बल नेपाल नम्वर ६ गण हेडक्वाटर सप्तरीका लागि ३ लाख ५० हजार रुपैयाँ बुझेका छन् ।’ श्रोतले भन्यो, ‘यता नेपाल प्रहरीतर्फ प्रहरी चौकी बेल्ही र चन्हीलाई क्रमश १ लाख ५० हजार तथा ५० हजार, ईलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टरलाई १ लाख ५० हजार, एसपी अफिसका लागि ३ लाख र डीआईजी अफिसका लागि १ लाख ५० हजार रुपैयाँ बुझेका छन् ।’

जिल्ला प्रहरी कार्यालयका लागि सहायक हवल्दार विपीन खड्का र डीआईजी कार्यालयका लागि हवल्दार देवकुमार यादवले उक्त रकम उठाएका छन् भने छोटी भन्सार कार्यालयका कार्यालय सहयोगीलाई १० हजार रुपैयाँ बुझाएपछि लाइन खुलाइएको छ । ‘कुल १५ लाख १० हजार रुपैयाँ सबैतिर बुझाइसकेपछि स्थानीय व्यापारीहरुले अवरोध गरेका थिए’ श्रोतले भन्यो, ‘पछि प्रहरीकै सल्लाहअनुसार उक्त नयाँ बाटो खुलाइएको छ ।’

बिओपी वेल्हीका इन्सपेक्टर राईले आफु विदामा रहेको बताएका छन् । ‘आमा विरामी परेपछि म विदामा आएको छु’, उनले भने ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर ६ गण हेडक्वाटर सप्तरीका प्रमुख एसपी ज्ञानमणि पौडेललाई पटक पटक फोन गर्दा पनि उठेन ।

सशस्त्र प्रहरी मधेश प्रदेशका डीआईजी कालीदास धौवजीले त्यहाँ बदमासी भएको विषयमा आफुसमक्ष पनि जानकारी आएको भन्दै तत्काल ती गतिविधि रोक्न निर्देशन दिएको बताएका छन् । ‘त्यहाँका इन्स्पेक्टर सनतकुमार राई विदामा रहेको कुरा जानकारीमै छैन्, त्यहाँ बदमासी भएको कुरा आफुसमक्ष पनि आएको छ, राईलाई उतै बस्न भनिसकेको छु’ उनले भने, ‘कारबाही गर्छु ।’

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले उक्त बाटो खनेको विषयमा अनुसन्धान भइरहेको बताएका छन् । ‘त्यस्तो लेनदेनको विषय केही छैन्, यद्यपी हामी अनुसन्धान गर्दैछौं’ उनले भने, ‘त्यस्तो पाइए कारबाही गर्छौ ।’

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी लालमणि आचार्यले ती विषयमा बुझेर तत्कालै बाटो बन्द गराइने बताएका छन् । ‘त्यस्ता कार्यमा सघाउनेलाई कारबाही हुन्छ, हामी बुझ्दैछौं’ उनले भने, ‘गणमा दरबन्दी रहेका प्रहरी हवल्दार यादवले के–के गरेको विषय मसमक्ष पनि आएको छ, मैले खटाएको छैन र गलत गतिविधिमा देखिए कारबाही गर्न मैले सबै जिल्लामा भनिसकेको छु ।’

सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालले सो विषयमा बुझेर प्रतिक्रिया दिने बताएका छन् । ‘म विदामा काठमाडौंतिर छु, बुझ्दैछु ।’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस