सप्तरी कारागारबाट चोरी मुद्दाका एक थुनुवा फरार

राजविराज, १४ वैशाख । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट आइतबार राति एक जना थुनुवा भागेका छन् ।
चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका शम्भुनाथ नगरपालिका–११ का ३५ वर्षीय रमानन्द मण्डल कारागारको कडा सुरक्षा र अग्लो पर्खाल पार गर्दै भाग्न सफल भएका हुन् । जिल्ला कारागार प्रमुख मातृकाप्रसाद दाहालका अनुसार, आइतबार राति चट्याङ र हुन्डरी चलिरहेको बेला मण्डल भागेको हुनसक्ने अनुमान गरिएको छ । अग्लो पर्खाल र सुरक्षा व्यवस्था बीच कैदी मण्डल भागेको विषयमा अझैं खुल्न सकेको छैन ।

बिहान थुनुवा तथा कैदी गणना गर्ने क्रममा एक जना कम भएको थाहा पाएपछि मण्डल फरार भएको पुष्टि भएको थियो । फरार थुनुवाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार घटनाको सम्बन्धमा कारागारमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरूमाथि समेत अनुसन्धान भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस